अभियुक्त छुटाउन जिल्ला प्रशासन घेराउ

mao officeकाठमाडौं, २५ भदौ । हत्याका आरोपी छुटाउन दवाव दिन एमाओवादीले जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज (मंगलबार) बसेको केन्द्रीय कार्यालयको बैठकले भदौ–२८ गते मुलुक भरिका सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने निर्णय गरेको हो ।
हत्या आरोपमा काठमाडौंमा पक्राउ गरेर चितवन पुर्‍याईएका रामप्रसाद अधिकारीलाई छटाउन एमाओवादीले दवाव दिँदै आएको छ । जिल्ला अदालतले रामप्रसादलाई अनुसन्धानका लागि प्रहरीलाई दश दिनको समय पनि दिई सकेको छ ।
नेता पोष्टबहादुर बोगटीका अनुसार भदौ–२८ गते मुलुक भरिका ७५ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय भएको छ । घेराउ विहान एघार देखि एक बजेसम्म हुने छ ।
उनले द्वन्द्वकालीन घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने जनाए । ‘द्वन्द्वकालीन मुद्दा ब्युँताएर मंसिर–४ को संविधानसभा निर्वाचन प्रभावित हुन्छ,’ बोगटीले चेतावनी दिए ।
जिल्ला प्रशासन घेराउको कार्यक्रम सम्पन्न भए पछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा भदौ–२१ गते प्रहरीले रामप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया