काठमाडौं, २५ भदौ । नेपाली गीतसंगीत क्षेत्रका वरिष्ठ गायक फतेमान राजभण्डारीको ७७ वर्षीको उमेरमा निधन भएको छ ।
काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा गायक राजभण्डारीको सोमबार मध्यराति मृत्यू भएको हो ।
वरिष्ठ गायक राजभण्डारीलाई मुटुको नशा च्यापिएको आशंकामा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकहरुले फोक्सोमा क्यान्सर रहेको जानकारी दिएका थिए ।
राजभण्डारीको जन्म बिक्रम संवत १९९३ सालमा पशुपतिको देवपतनमा भएको थियो । स्वर्गीय राजभण्डारीका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
मर्नबरु गाह्रो हुन्न.., रातो चन्द्र र सूर्य, यस्तो पनि हुँदो रहेछ, मनै खायो डडेलोले, सान्ननीको ओठैमा कालो कोठी रैछ…..जस्ता नेपाली गीतमा राजभण्डारीले स्वर दिए छन् ।
वरिष्ठ गायक फतेमानले पहिलो पटक ‘यस्तो पनि हुँदो रहेछ….’ बोलको गीत गाएका हुन् । यो गीत २०२६ सालमा रेडियो नेपालबाट पहिलो पटक गुञ्जेको थियो ।
पशुपति पञ्चदेवलमा राखिएको वरिष्ठ गायक राजभण्डारीको पार्थिव शरीरमा आफन्त, शुभेच्छुक र समर्थकले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । राजभण्डारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिँदैछ ।
प्रतिक्रिया