काठमाडौं, २३ भदौ । प्रमुख दल निकट आठ युवा संगठनहरुले विधिको शासन उल्लंघन गरि हत्याराहरुको पक्षमा वकालत गर्ने एमाओवादीका नेताहरुलाई देश निकाला गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज (आइतबार) पत्रकार सम्मेलन गरेर उनीहरुले मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रतालाई चुनौति दिँदै आमनागरिकलाई नधम्याउन सुझाव दिए । सर्वसाधारणलाई आतंकित तुल्याए एमाओवादीका शीर्ष नेताहरुलाई देश निकाला गर्ने उनीहरुको भनाई थियो ।
उनीहरुले पुष्पकमल दाहाल, बाबुराम भट्टराईलगायतका एमाओवादीका नेताहरुले आफूलाई सुधार गर्न सुझाव दिए ।
तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले हत्यारालाई संरक्षण र पृष्ठपोषण गर्ने काम अध्यक्ष प्रचण्डले गरिरहेको बताए । उनले प्रचण्डले धम्कीको भाषा नसच्याएसम्म एमाओवादीका नेताहरुको कर्तुतको भण्डाफोर गर्दै देश निकाला गर्ने चेतावनी दिए ।
युवा संघका अध्यक्ष महेश बस्नेतले युद्धकालमा मान्छे मार्ने आदेश मैले दिएको हुँ, सक्छौं भने मलाई कारवाही गर भन्ने धम्की दिँदै हिड्ने एमाओवादीका अध्यक्ष प्रचण्डले जनतालाई आतंकित बनाएको बताए ।
‘हत्याराहरुलाई संरक्षण गरी जनतालाई आतंकित पार्ने कार्य जारी राख्ने हो भने एमाओवादीका शीर्ष नेताहरुलाई घर–घरबाट निकाली ट्याक्टरमा राखेर प्रहरीलाई बुझाउने छौं,’ उनले भने ।
प्रतिक्रिया