‘भोट’का लागि सातवर्ष पछि ‘पुर्खौली घर’

Madhav-Nepal-Gaurरौतहट, २२ भदौ । संविधानसभा निर्वाचन नजिकिँदै गर्दा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सात बर्ष पछि आफ्नो पैतृक घरमा प्रवेश गरेका छन् ।
२०६३ सालको मधेश आन्दोलनका प्रदर्शनकारीले आक्रमण गरेर घर जलाई दिए पछि नेता नेपाल पुर्खौली घरमा गएका थिएनन् । गौर नगरपालिका–३ मा उनको घर रहेको छ ।
२०६३ साल यता उनी पटक–पटक गौर आएका छन् । यद्यपि, नेता नेपाल होटेल वा निकटतम व्यक्तिका घरमा बास बस्ने गर्थे ।
संविधान सभाको दोस्रो निर्वाचनमा रौतहटको क्षेत्र नम्बर–१ बाट चुनावमा उम्मेद्वारी दिने निश्चित भएपछि वरिष्ठ नेता नेपालले घरको मर्मत तथा सरसफाई गर्न लगाएका हुन् । उनले आफ्नै घरमा नेता तथा कार्यकर्तालाई भेट्न शुरु पनि गरेका छन् ।
तपाईलाई पुर्खौली घर फर्किन धेरै सयम लाग्यो नी ? भन्ने पत्रकारहरुको जिज्ञासामा वरिष्ठ नेता नेपालले सबै परिवार बसाई काठमाडौंमा बस्ने भएकाले रौतहटको घरमा ध्यान दिन नसकेको बताए ।
नेता नेपालको परिवार कोटेश्वरमा घर बनाएर बस्दै आएको छ ।
‘सात वर्ष पछि घर आएको छु,’ गौरस्थित आफ्नै निवासमा आज (शनिबार) पत्रकारसँग उनले भने, ‘खुसी लागेको छ ।’
उनले आफ्ना जीवनका महत्वपूर्ण क्षणहरु गौरमा बितेको प्रतिक्रिया पनि दिए ।
उनले अब आफू क्षेत्र नम्वर एकमा उम्मेद्वारी दिने भएकाले गौर आएका बेला पुर्खौली घर प्रयोग गर्ने बताए ।
उनी २०५६ को निर्वाचनमा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । यद्यपि, संविधान सभाको पहिलो निर्वाचनमा आफ्नो क्षेत्र छाडेर क्षेत्र नम्बर–६ बाट उम्मेद्ववार बन्दा पराजित भएका थिए ।
यसैबीच, वरिष्ठ नेता नेपालले गौरमा सरसफाईमा सरिक भएका छन् । आफ्ना समर्थक र शुभचिन्तकहरुसँग ‘कुचो’ हातमा लिएर बाटोमा सरसफाई गरेका थिए । नेता नेपालको हातमा ‘कुचो’ देखेपछि स्थानीयले निर्वाचन लागेको महशुस गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया