मापदण्ड : राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बनाएको

Rishiकाठमाडौ, १९ भदौ । धादिङ कांग्रेसले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई आगामी संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ सिफारिस गरेको छ ।
धादिङको क्षेत्र नम्बर २ ले धमलालाई समानुपातिक सभासद्मा सिफारिस गरेको क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा छवि बनाएको र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै समानुपातिकमा आफू सिफारिस भएको धमलाले बताए ।
अध्यक्ष धमला समानुपातिकमा सिफारिस भए पछि उनी भन्दा वरिष्ठ नेताहरुले असन्तुष्टी जनाएका छन् । धमलाको विरोध पनि शुरु भएको छ ।
भूमिगत समूह रणवीर सेनासंग सांठगाठ रहेको आरोपमा हिरासतमा बसिसकेका धमलालाई माधवकुमार नेपाल नेतृत्वको सरकारले मुद्दा फिर्ता लिई सफाई दिएको थियो । अपराधिक गतिविधि र हातहतियार तथा खरखजानाको मुद्दा अध्यक्ष धमललाई लागेको थियो ।
धमला अपराधिक गतिविधिमा संलग्न रहेको अडियो रेकर्ड समेत प्रहरीले सार्वजनिक गरेको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतबाट मुद्दा किनारा लाग्नु अघि नै तत्कालीन नेपाल सरकारले फिर्ता लिएर सफाई दिएको हो ।
दुई नम्बर क्षेत्रबाट चिजकुमार श्रेष्ठ, गोपाल विक, अम्बिका अधिकारी र उर्मिला थपलियाको नाम पनि समानुपातिकतर्फ सिफारिस भएको छ ।
कांग्रेसले प्रत्यक्ष तर्फ सभापति रामनाथ अधिकारी, भीमप्रसाद ढुङगाना, रमेश धमला, डा.राजाराम कार्की, शिवराज अधिकारी, नन्दप्रसाद रिजाल, रामकृष्ण अधिकारी, बद्री अर्याल र गेहेन्द्र मल्लको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया