फेसबुकमा ब्लक गर्ने नेता नेपालको चेतावनी

Pradeep-Nepalकाठमाडौं, १८ भदौ । एमालेका नेता प्रदीप नेपालले तेस्रो लिङ्गी सुनिलबाबु पन्तसहित समर्थक पार्टीमा प्रवेश गरेको विषयलाई लिएर भएका टिकाटिप्पणी प्रति चित्त दु:खाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज (मंगलबार) सन्देश लेखेर उनले सुनिलबाबु पन्त र एमालेका सम्बन्धमा जोडिएर आएका टिप्पणीका सम्बन्धमा असन्तुष्टि जनाएका हुन् । सो विषयमा आउने टिप्पणी र प्रतिक्रियालाई लिएर नेता नेपालले आफ्ना फेसबुक साथीहरुलाई ब्लक गर्ने चेतावनी दिएका छन् ।
‘सुनिलबाबु पन्तको नेतृत्वमा नेपाली नागरिकहरुको एउटा समुदाय नेकपा एमालेमा प्रवेश गरेपछि फेसबुकमा जेजस्ता प्रतिकृयाहरु पढियो, त्यसले नेपाली फेसबुक प्रयोगकर्ताहरुको एउटा समूह कतिसम्मको निकृष्ट सोच पाल्दोरहेछ भन्ने ज्ञान प्राप्त हुन्छ,’ उनले भनेका छन्, ‘मैले चाहिँ फोहोरी प्रतिकृया दिने सबैलाई ब्लक गर्ने निर्णय गरेको छु ।’
तेस्रो लिङ्गी सुनिलबाबु पन्तसहितको टोली सोमबार एमालेमा प्रवेश गरे पछि एमालेको लिङ्ग पहिचान भएको भन्ने टिकाटिप्पणी आएका थिए । सो टिप्पणी पछि नेता नेपाल रुष्ट भएका हुन् ।

प्रतिक्रिया