‘गोलमेच सम्मेलन’मा भूमिका खेल्न आग्रह

Dev-Gurungकाठमाडौं, १३ भदौ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले राष्ट्रपति डा.रामवरण यादवसँग ‘गोलमेच सम्मेलन’का लागि सहजकर्ताको भूमिका खेल्न आग्रह गरेको छ ।
राष्ट्रपति डा.यादवसँग आज (बिहीबार) शीतल निवासमा भएको भेटबार्ताका क्रममा ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनबाट मुलुकलाई निकास दिन माग गरेको हो ।
नेकपा–माओवादीका सचिव देव गुरुङको नेतृत्वमा ३३ दलीय मोर्चाका नेताहरुले डा.यादवसँग भेट गरेर सो आग्रह गरेका हुन् ।
‘राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिलाई गोलमेच सम्मेलन र राष्ट्रिय सहमतिका लागि सहजकर्ताको भूमिका खेल्न आग्रह गरेका छौं,’ भेटपछि सचिव गुरुङले भने ।
राष्ट्रपतिले ३३ दलीय मोर्चाले अघि सारेका माग पुरा गर्ने तर्फ पहल नगरे आन्दोलन चर्काउने गुरुङले बताए ।
उच्चस्तरीय राजनीतिक समिति र सरकारले माग पुरागर्ने तर्फ ध्यान नदिए पछि राष्ट्रपतिको समक्ष माग लिएर आएको उनको भनाई थियो ।
जवाफमा राष्ट्रपति डा.यादवले कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्ने विषयमा आफूले छलफल गर्ने बताएको सचिव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया