माओवादीले भत्काएका भवन बन्न सकेनन्

maobadiधनगढी, १३ भदौ । तत्कालीन नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वका बेला क्षतिग्रस्त कैलालीका गाविस भवन हालसम्म पुन:निर्माण नहुँदा दैनिक कामकाज प्रभावित हुने गरेका छन् ।
सरोकारवाला निकायले क्षतिग्रस्त भवन पुन:निर्माणमा चासो नदिए पछि सचिवहरुलाई कामकाज गर्न असहज भएको हो । सोही कारण देखाएर सचिवहरु सदरमुकामै बसेर काम गरिरहेका छन् ।
सचिवहरुको गतिविधिबाट लिनुपर्ने अत्याश्यक विभिन्न सिफारिस पत्र, जन्म, मृत्यू, विवाह दर्तालगायतका कामका लागि सर्वसाधरणहरुले सचिव खोज्नमै दिन बिताउनु परेको सेवाग्राहीको गुनासो छ ।
भवन अभाव पछि स्थानीय निकायको सेवासुविधा दूर र झन्झटिलो हुने गरेको छ । सचिवहरु पनि विभिन्न बहाना बनाएर आफूलाई पायक पर्ने ठाउँमा बसेपछि सेवाग्राहीलाई समयमा सेवा दिन नसकेको फूलबारी गाविसका स्थानीय राजेन्द्र जोशीले बताए ।
कैलालीमा ४२ वटा गाविस छन् । सबै गाविसका भवन द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी)ले भत्काई दिएको थियो । हालसम्म १२ वटा गाविस भवन पुन:निर्माण भएको स्थानीय शान्ति समितिले जनाएको छ ।
जिल्ला पुन:निर्माण समितिले सिफारिस गरेर मन्त्रालयमा रकाम माग गरे पनि बजेट नआउँदा समस्या भएको जिल्ला प्राविधिक कार्यालय कैलालीका प्रमुख इन्जिनियर प्रेमदत्त भट्टले बताए ।
शान्ति प्रक्रियासँगै बलिया, धनसिंहपुर, गोदावरी, हसुलिया, जोशीपुर, खैलाड, लालबोझी, मसुरिया, पहलमानपुर, पवेरा, प्रतापुर र उर्मा गाविसका भवन पुन:निर्माण भएका छन् । २७ देखि ३० लाखमा पुन:निर्माण गरिएका भवनमा तीन वटा कोठा, ट्वाइलेट बाथरुम छन् ।
गाविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष तथा बसौटीका सचिव भोजराज भट्टले भवन नहुँदा झोलामा कागज पत्र बोकेर दैनिक कामकाज गर्नुपरेको बताए ।

प्रतिक्रिया