टिकटका लागि कचकच नगर्नुस् : कोइराला

Sushil-Koiralaकाठमाडौं, ११ भदौ । कांग्रेसका सभापति सुशील कोइरालाले टिकटका लागि धेरै कचकच नगर्न सुझाव दिएका छन् ।
राजधानीमा आज (मंगलबार) आयोजित कार्यक्रममा सभापति कोइरालाले पार्टीमा नेताहरु मिल्न नसके माओवादीले मुलुक अझै ३०/३५ वर्ष सम्म हैकम चलाउने बताए । उनले टिकटका लागि हानथाप नगर्न नेताहरुलाई आग्रह पनि गरे ।
‘टिकटका लागि हानथाप नगरी एकढिक्का भई चुनावमा जानु पर्छ,’ उनले भने, ‘एकढिक्का भएर चुनावमा गए संविधानसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ ।’
‘निर्वाचनमा कांग्रेस एकढिक्का भएन भने अर्को ३०/३५ वर्ष देशमा माओवादीको हैकम चल्छ,’ उनले भने, ‘माओवादीको अधिनायकवाद रोक्न नेताहरु मिल्नै पर्छ ।’
‘चुनावमा महिला उम्मेद्वारको कोटा बढाउन मात्रै माग नगरी गाउँ–गाउँमा परिचालन हुनुस्,’ सभापति कोइरालाले निर्देशन दिँदै भने, ‘कांग्रेसले बहुमत ल्याए पछि सबैका अधिकार सुनिश्चित हुन्छ ।’
महामन्त्री प्रकाशमान सिंहले ३३ प्रतिशत महिलाको उम्मेद्वारी सुनिश्चित गर्नुपर्ने बताए । उनले निर्वाचन क्षेत्र हाँक्न सक्ने क्षमता भएका महिलालाई उम्मेद्वार बनाउने बताए ।

प्रतिक्रिया