अखाद्य सामान बच्ने दुई पसल माथी मुद्दा

Mithaiचितवन, ११ भदौ । चितवनको मुख्य बजार क्षेत्रमा अखाद्य बस्तु बेचेको भन्दै जिल्ला प्रशासन कार्यालयले दुई पसललाई कानूनको दायरामा ल्याएको छ ।
अखाद्य सामान विक्री गरेको अभियोगमा भरतपुर नगरपालिकामा रहेका ॐ मिष्ठान्न भण्डार र आर.सी. किराना पसललाई स्थानीय प्रशासनले मुद्दा चलाएको हो । अखाद्य वस्तु विक्री वितरण गरेको गुनासो बढे पछि स्थानीय प्रशासनले अनुगमन गरेको थियो ।
अनुगमनमा परेका पसलहरुलाई सरकारी वकीलको कार्यालयमा पेश गरिएको बजार संरक्षक अधिकृत विष्णुभक्त पौडेलले जानकारी दिए ।
व्यवसायीले अखाद्य हाईड्रो, रंगलगायतका सामाग्री प्रयोग गरेको अनुगमनमा पाईएको थियो । सामानमा मूल्य सूची नराख्ने, म्याद सकिएका सामान बिक्री गर्नेलगायतका कार्य गरेको स्थानीय प्रशासनले अनुगमनका क्रममा पाएको जनाएको छ ।
भदौ–१० गते सम्म भरतपुर, नारायणगढ, मुग्लिन बजार, रत्ननगर, गीतानगरमा १३ पटकसम्म अनुगमन गरिएको छ । अहिले सम्म १ सय ५१ वटा पसलमा अनुगमन भैसकेको छ । अधिकांश उद्योग, पसल मापदण्ड विपरित रहेको पाईएको छ ।
७७ वटा किराना पसल, १६ वटा दुध डेरी, ५ उद्योग, ४५ मिठाई पसल र होटेल र ८ वटा औषधि पसल अनुगमनमा परेका हुन् ।
व्यवसायीले आफ्नो व्यवसाय दर्ताको प्रमाणपत्र, मूल्यसूची सबैले देख्ने ठाउँमा नराखेको पाईएको बजार संरक्षण अधिकृत पौडेलले बताए ।
कुनै व्यवसायीले मूल्यसूची राखेन भने स्थानीय प्रशासनले १५,००० सम्म जरिवाना र दुई वर्ष कैद वा दुवै सजाय दिने व्यवस्था कानूनमा छ । (फाईल तस्विर)

प्रतिक्रिया