संघको विवाद पदाधिकारीले उचाले : नेपाल

Madhav nepal1पोखरा, ३ भदौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महासचिव र सचिवहरुलगायतका पदाधिकारीले पार्टी निर्देशन विपरित युवा संघ नेपालको विवादलाई उत्कर्षमा पुर्‍याउन बढवा दिएको आरोप लगाएका छन् ।
पोखरामा आज (सोमबार) प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संघका गुटगत भेलामा सहभागी भएर पदाधिकारीहरुले मर्यादा भूलेको टिप्पणी गरे ।
‘पार्टीका जिम्मेवार नेताहरु गुटगत भेलामा सहभागी भएर संगठनलाई राम्रो भएन,’ उनले भने, ‘विवादित भेलामा जानेहरुले गल्ती महसुस पनि गर्नुपर्छ ।’
युवा संघमा अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपटबहादुर रावलबीच विवादा चर्किरहेका बेला नेता नेपालको सो अभिव्यक्ति आएको हो ।
वरिष्ठ नेता नेपालले युवा संघले निर्वाचनलाई केन्द्रित गरी महिला युथफोर्स गठन गरेको भन्ने विषयमा आफूलाई जानकारी नरहेको बताए । ‘महिला युथ फोर्स गठन गरेको कुरा मलाई थाहा छैन,’ नेपालले भने, ‘त्यस्तो संगठन गठन भएको भए खारेज गर्नु पर्छ ।’
अध्यक्षको निर्देशन सबैले मान्नुपर्ने बताएका उनले पार्टी अनुशासन उलंघन गर्नेलाई कारबाही हुने बताए ।
एमालेका भतृ संगठनहरुमा कथित ‘डन’लाई संरक्षण दिइएको आरोपका सम्बन्धमा नेता नेपालले इमान्दार व्यक्ति जो पनि पार्टीमा रहन सक्ने बताए ।
‘एमाले इमानन्दार मान्छे अट्ने ठाउँ हो,’ उनले भने, ‘तर त्यसमा ‘डन–गुण्डा’ अट्न सक्दैन ।’
उनले आपराधिक व्यक्तिलाई कसैले संरक्षण गर्ने प्रयत्न गरे निरुत्साही गरिनु पर्ने बताए ।
नेता नेपालले आफू कसैको क्याम्पमा जान जरुरी नरहेको बताए । ‘एमालेमा कुनै क्याम्पहरु छैनन्,’ उनले भने, ‘मलाई त्यो जरुरी पनि छैन ।’ उनले आफू स्वयं व्यक्ति एउटा क्याम्प रहेको दाबी गरे ।

प्रतिक्रिया