भगेंरा टाउके अक्षरबाट ‘प्रचण्ड’ बेखुसी

prachandaकाठमाडौं, २ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई बद्नाम गराउन विभिन्न तत्व लागि परेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्रीको हैसियतमा राज्यको सुविधा प्रयोग गर्दा विरोध गर्न नहुंने दाहालको भनाई छ । अध्यक्ष दाहालको निजी सचिवालयले आज (आइतबार) विज्ञप्ति जारी गरेर यथास्थितिवादी शक्तिहरुको डिजाइनमा बद्नाम गराउने लागेको जनाएको हो ।
‘देशलाई शान्ति र प्रगतितर्फ लानको निम्ति लागि परिरहेको देखेर केही यथास्थितिवादी, पश्चगामी र अग्रगामी परिवर्तन विरोधी शक्तिहरुको डिजाइनमा बद्नाम गर्न एउटा कडीको रुपमा षड्यन्त्र भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नत्र प्रचण्डलाई मात्र किन यस्तो आरोप लगाइन्छ ।’
सचिवालयले भनेको छ, ‘एउटा सामान्य कुरालाई भगेरा टाउके अक्षरमा प्रचार गर्न उक्साउने सम्बन्धित पक्षले यस बारेमा सोच्न आग्रह गर्दछौं ।’
विगत केही समययता पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाललाई कसरी बद्नाम गराउने भन्ने उद्देश्यले पत्रपत्रिकामा आइरहेका समाचारप्रति दाहालको गम्भीर ध्यानाकर्षण भएको सचिवालयको भनाई छ ।
आइतबार एक राष्ट्रिय दैनिक पत्रिकामा ‘दाहालको गाडीलाई विमानसम्मै पुग्ने छुट’ शीर्षक समाचार आए पछि अध्यक्ष प्रचण्डले निजी सचिवालय मार्फत आपत्ति जनाएका हुन् । प्रचण्ड सो समाचारबाट बेखुस रहेको जनाईएको छ ।
सचिवालयले अध्यक्ष प्रचण्डलाई कसरी बद्नाम गर्न सकिन्छ भनी आम जनमानसमा भ्रम सिर्जना गर्न अनावश्यक कुराहरुलाई उचालेर कुप्रचारमा लागेको दावी पनि गरेको छ ।
एमाओवादी अध्यक्ष दाहाल आफ्नो गाडी सहित विमान सम्म जाने गरेकोमा पत्रपत्रिकामा समाचार आए पछि उनी र उनको निजी सचिवालयको टाउको दु:खाई भएको हो ।
अध्यक्ष दाहाल विमान सम्मै आफू सवार गाडी लिएर जान थाले पछि विरोध शुरु भएको थियो । विरोध हुन थाले पछि दाहाल खुसी छैनन् ।
दाहालले आफूले पूर्व प्रधानमन्त्रीको हैसियतबाट भीआईपीहरुले प्रयोग गर्ने सुविधा लिएको विज्ञप्तिमा जनाका छन् ।

प्रतिक्रिया