रोल्पाका १६ गाविस ‘झोला’मै सीमित

रोल्पा, १ भदौ । ‘झोले’ गाविसको समस्या रोल्पा जिल्लामा अहिले पनि जस्ताको त्यस्तै छ ।
रोल्पाका १६ गाविसमा अहिले पनि झोलाबाटै काम हुने गरेको स्थानीयको भनाई छ । गाविस सचिवहरु पनि गाविमा बसेर काम नगरी दिंदा सेवाग्राहरी समस्यामा परेका हुन् ।
तत्कालीन नेकपा (माओवादी)को आतंकका कारण झोलामा सीमित हुन पुगेका गाविस हालसम्म आफ्नो कार्यालयमा बस्नसकेका छैनन् ।
नेकपा (माओवादी)द्धारा द्वन्द्वका बेला २७ गाविस भत्काइएका थिए । त्यस मध्ये केही गाविस निर्माण भईसकेका छन् । तर १६ गाविसका भवन पुन: निर्माण हुन नसक्दा कामकाज झोलाबाटै हुने गरेको हो ।
जेदबाङ, भावाङ, धवाङ, जिनाबाङ, पाछाबाङ, इरिबाङ, जेलबाङ, उवा, हार्जङ, सेरम, पाङ, गुम्चाल, गजुल, घर्तीगाउं, कुरेली र रांक गाविसको भवन नहुंदा कामकाज झेलाबाटै हुने गरेको जिविसले जनाएको छ ।
२०६३ साल पछि जिल्लाका ११ भवन पुन: निर्माण भएपनि यी गाविसहरु भवन विहीन हुंदा झोलाबाटै सेवा दिनुपरेको गाविस सचिवहरुको भनाई छ ।
ती गाविसहरुको भवन निर्माणका लागि सिफारीस गरिएको भए पनि बजेट नआएकाले पुन: निर्माण हुन नसकेको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सवइञ्जिनियर उपेन्द्र देवकोटाले बताए ।
स्थानीय निकायमा गाविस महत्वपूर्ण निकाय भएपनि आफ्नो भवन नहुंदा झोलाबाटै कामकाज चलाउनु परेको गाविस सचिवहरुको गुनासो छ । सौर्य

प्रतिक्रिया