‘प्रचण्ड’जी बोल्दा ध्यान दिनु पर्छ : कोइराला

Sushil Koirala 5काठमाडौं, ३० साउन । कांग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चुनाव सार्ने सार्वजनिक अभिव्यक्ति दिँदा विचार गर्नुपर्ने सुझाव दिएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा आज (बुधबार) पत्रकारसँग कुरागर्दै कोइरालाले उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेको व्यक्तिले निर्वाचन सार्ने विषयमा जथाभावी बोल्न नहुँने बताए । उनले चैत महिनासम्म निर्वाचन सार्ने सहमति कतै नभएको बताए ।
‘उच्चस्तरीय राजनीतिक समितिको संयोजक समेत रहेको जिम्मेवार व्यक्तिले चुनाव सार्ने कुरा गर्नु हुँदैन,’ उनले भने, ‘मंसिर–४ को चुनाव सार्ने कुरा कांग्रेसलाई मान्य छैन ।’
उनले चुनाव सार्ने विषयमा राजनीतिक समितिमा कुनै सल्लाह नभएको बताए । ‘मंसिर–४ गतेको चुनाव सारे दुर्घटना हुन्छ,’ कोइरालाले भने, ‘जसरी पनि चुनाव तोकिएकै समयमा गर्नु पर्छ ।’
एमाओवादीका अध्यक्ष दाहालले मंगलबार राजधानीमा नेकपा–माओवादी निर्वाचनमा सहभागी भए मंसिर–४ गतेको निर्वाचन सार्न सक्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको सभापति कोइरालाले विरोध जनाएका हुन् ।
यसैवीच, सभापति कोइरालासँग सामुदायिक रेडियो प्रसारक संघमा प्रजातन्त्रिक विचार राख्ने नवनिर्वाचित पदाधिकारी र सदस्यले भेट गरेका छन् । भेटका लागि वरिष्ठ उपाध्यक्ष किशोरजंग थापा, सचिव अर्जुन गिरीलगायतका सदस्य पुगेका थिए ।

प्रतिक्रिया