एघार रेडियोद्वारा ‘अकोराव’ परित्याग

Acorabकाठमाडौं, २८ साउन । ठूला राजनीतिक दलहरुको चरम दवाव पछि सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका छन् ।
काठमाडौंको थापाथलीमा आज (सोमबार) भएको निर्वाचन सम्बन्धि कार्यक्रममा एमाओवादी, कांग्रेस र एमालेको चर्को दवाव खेप्न नसकेका एघार सामुदायिक रेडियोहरुले ‘अकोराव’को सदस्यता त्याग्ने घोषणा गरेका हुन् ।
सदस्यता त्याग गर्ने रेडियोहरुका प्रतिनिधिहरु कुनै पनि प्रक्रियामा सहभागी नभई हलबाट बाहिरिएका थिए । उनीहरुले ‘अबदेखि हामी ‘अकोराव’मा छैनौं । आईन्दा फोन लगायतका कुनै पनि सम्पर्क नगर्नु’ भन्दै बाहिरिएको एक जना प्रत्यक्षदर्शी प्रतिनिधिले जानकारी दिए ।
कांग्रेस, एमाले र एमाओवादी तथा नेकपा–माओवादीले पद बाँडफाँट गरेर लिएपछि अधिकांश रेडियोका प्रतिनिधिहरु असन्तुष्ट भएका हुन् । स्रोतका अनुसार एघार रेडियोहरुले छिट्टै सामुदायिक एफ.एम. रेडियोहरुको हकहितलाई ध्यानमा राखेर अलग संस्था बनाउने छन् ।
त्यसका लागि सोमबार बेलुका देखिनै गृहकार्य शुरु भएको छ । ‘अकोराव’को सदस्यता त्याग गर्ने रेडियोहरुले अलग संस्था गठन पछि मात्रै आफूहरुको नाम सार्वजनिक गर्ने जनाए ।
महासचिवमा रेडियो रुपाकोट खोटाङका भूपराज खड्कालाई महासचिव पद र रेडियो पूर्वाञ्चलकी कमला कँडेल उपाध्यक्षलगायत अन्य पदाधिकारी र सदस्यहरुलाई उम्मेद्वारी फिर्ता गराउन दवाव परे पछि सो अवस्था सिर्जना भएको हो ।
एमाओवादी, कांग्रेस र एमालेबाट मिलाउन भन्दै खट्टिएका प्रतिनिधिहरुले ‘अकोराव’लाई चुनावमा जान नदिएको आरोप लागेको छ ।
चर्को दवाव पछि महासचिवको उम्मेद्वारी फिर्ता लिएका खड्काले ‘अकोराव’लाई दलीय भागबण्डामा खाने भाँडो बनाएको आरोप लगाए । ‘सबैलाई समेट्न नसक्ने ‘अकोराव’मा बस्नुको अर्थ छैन,’ उनले भने, ‘साधारण सभामा बसेर जानुको अर्थ नभए पछि बाहिरिए ।’
उपाध्यक्षबाट उम्मेद्वारी फिर्ता लिएकी कँडेलले पनि ठूला दलहरुको दवावमा आफूलाई अन्याय गरेको गुनासो गरिन् । ‘अकोराव सबैको हितमा काम गर्ने संस्था रहेन,’ उनले भनिन्, ‘अकोरावलाई सबै रेडियोको संस्था बनाउन उम्मेद्वारी दिएकी थिए । ठेकेदारहरुले हुन दिएनन् ।’
मध्यन्ह १२ बजे मतदान हुने कार्यक्रम रहे पनि बेलुका ६ बजे सम्म विवादका कारण सो कार्य हुन सकेको थिएन ।
सर्वसम्मत गर्ने नाममा एमालेका प्रचार विभाग सचिव सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महेन्द्र विष्ट, नेपाल प्रेस युनियन सम्बद्ध कवीर राणा, एमाओवादीका खिलबहादुर भण्डारी तथा पत्रकार टीकाराम राईले विषेश भूमिका खेलेका थिए । सर्वसम्मत भनिए पनि आ–आफ्ना नजिककालाई मात्रै ‘अकोराव’को कार्यसमिति लगेको खड्काको आरोप छ ।
यसैबीच, ‘अकोराव’ अध्यक्षमा रुपन्देही निवासी मोहन चापागाईं, महासचिवमा पर्साका गोविन्द देवकोटा, सचिवमा दाङका अर्जुन गिरीलगायतका पदाधिकारी र सदस्यहरु निर्विरोध भएका छन् । अध्यक्ष चापाईं एमाले निकट हुन् भने महासचिव देवकोटा एमाओवादी र सचिव गिरी कांग्रेस समर्थक हुन् ।
‘अकोराव’मा आउने ठूलो विदेशी सहयोगका कारण विवाद हुँदै आएको छ ।
केही प्रतिनिधिहरुले ‘अकोराव’ सामुदायिक रेडियोको हकहितमा भन्दा पनि आफ्ना निजिकका रेडियो तथा व्यक्तिगत हकतिका लागि मात्रै सक्रिय भएको आरोप लगाए । स्थापना भएको छोटो अवधिमै ‘अकोराव’लाई ठूलो झट्का लागेको छ ।

बुटवलमा सम्पन्न चौथो महाधिवेशनबाटै ‘अकोराव’मा विभाजनको वीउ रोपिएको आरोप लागेको छ ।

प्रतिक्रिया