‘प्रजिअ’ले सिन्डिकेट संरक्षण गरेको आरोप

Yatayatकाठमाडौं, २८ साउन । विन्ध्यवासिनी यातायात ब्यवसायी समिति पोखराले सर्वोच्च अदालतको आदेश विपरीत कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यादवप्रसाद कोइरालाले सिण्डिकेट प्रथालाई बढावा दिएको आरोप लगाएको छ ।
समितिले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रजिअ कोइरालाले यातायात क्षेत्रको सिण्डिकेट हटाउन अनिच्छा देखाएको आरोप लगाएको हो । प्रजिअ कोइरालाका कारण आफूहरुको करोडौ रुपियाँ डूब्नेस्थिति उत्पन्न भएको समितिको भनाई छ ।
पोखरा नगर र आसपासको ग्रामिण क्षेत्रमा स्तरीय सेवा दिन ५८ वटा एयरकण्डिसन बससहित २०६९ कात्तिक–१४ गते रुट परमिटका लागि निवेदन दिएपनि समितिले सिण्डिकेटका कारण अनुमति पाएको छैन ।
समितिका अध्यक्ष समबहादुर गुरुङगले सरकारले सिण्डिकेट तोडेर अनुमति दिन पटक–पटक लिखित निर्देशन दिए पनि यातायात ब्यवस्था कार्यालयका प्रमुख सुनिल खनाल र प्रजिअ कोइरालाले अनुमति नदिएको आरोप लगाए ।
उता, स्थानीय प्रशासनले समितिका पदाधिकारी विरुद्ध नै पक्राउ पूर्जी जारी गरेको छ ।

प्रतिक्रिया