जनताबाट आफै बहिष्कृत हुन्छन् : कोइराला

Susil-koirala-Indiaनयाँ दिल्ली, २१ साउन । कांग्रेसका सभापति सुशील कोइरालाले चुनाव बहिष्कार गर्न खोज्नेहरू जनताबाट आफै बहिष्कृत हुने चेतावनी दिएका छन् ।
नेपाली जनसम्पर्क समिति भारतले नयाँ दिल्लीमा आइतबार साँझ आयोजना गरेको सम्मानमा कोइरालाले मंसिर–४ गतेको चुनाव कसैले रोक्न नसक्ने बताए ।
‘चुनाव बहिष्कार गर्न खोज्नेहरू आफै जनताबाट बहिष्कृत हुन्छन्,’ उनले भने, ‘मंसिर–४ मा चुनाव हुन्छ ढुक्क हुनुस् ।’
चुनावको माहोल बनिसकेको उनको भनाई छ । गाउँ–गाउँमा चुनावी अभियान तिव्र भइसकेको बताएका कोइरालाले चुनाव हुन नदिने षड्यन्त्रहरू असफल हुने स्पष्ट पारे ।
‘चुनावका पक्षमा भारत, चीन, अमेरिका, यूरोपेली युनीयनलगायत अन्तर्राष्ट्रिय समुह देखिएका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय दवावले पनि निर्वाचनलाई सहयोग मिल्छ ।’
उनले आगामी चुनावमा लोकतान्त्रिक शक्तिको बहुमत आवश्यक रहेको बताए । ‘कांग्रेस मात्रै नयाँ संविधान बनाउन सक्छ,’ उनले भने, ‘कांग्रेसलाई नयाँ संविधानका लागि जनताले बहुमत दिनु पर्छ ।’
कम्युनिष्टहरूले लामो समय जनतालाई भ्रममा पारेको भन्दै सभापति कोइरालाले त्यसले देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए । (समाचार सौजन्य नेपाली जनसम्पर्क समिति, भारत)

प्रतिक्रिया