उपक्षेत्रीय अस्पतालमा दुई विरामी अलपत्र

Birami-Dadeldhuraडडेल्धुरा, २० साउन । ३२ वर्षदेखि प्यारालाईसिसको विरामी भई टिम अस्पताल डडेल्धुराको वाटरबेडमै रहेका २ जना महिलाहरु अहिले अलपत्र परेका छन् ।
टिम अस्पताल हटेसंगै वैतडी जिल्ला सिद्धेश्वर गाविस वडा नम्वर ८ की ५० वर्षीया रामा ऐर र डडेल्धुरा कोटेली गाविस वडा नम्वर ७, ऐरोडाकी ४४ वर्षीया डिकरीदेवी ऐर अलपत्र परेकी हुन् । टिम अस्पताल रहेको स्थानमा उपक्षेत्रीय अस्पताल संचालन भएपनि उनीहरुलाई वास्ता नगरेको पीडितहरुको भनाई छ । अस्पतालले उनीहरुलाई नि:शुल्क पाईने औषधिबाट समेत बञ्चित गरेको छ ।
टिम अस्पतालले उनीहरुको गासवास, औषधि र अतिरिक्त खर्च व्यहोर्दै आएको थियो । यद्यपि, उपक्षत्रीय अस्पतालले उनीहरुलाई नि:शुल्क पाईने औषधि समेत उपलब्ध नगराएको पीडितहरुले गुनासो गरे । आफूहरुको समस्याप्रति सामाजिक संघ, संस्था र राजनीतिक दलहरुले समेत नबुझेको डिकरीदेवी ऐरले गुनासो गरिन् ।
‘टिम अस्पतालले २०७० बैशाख सम्म सेवा सुविधा दिंदै आएको थियो,’ उनले भनिन्, ‘दिनको दुई चोटी डाक्टरले चेकजांच गर्ने गरेको र नि:शुल्क औषधि दिने गरको थिए । अहिले सबै कटौती भयो ।’
टिम अस्पतालले नि:शुल्क औषधि, हप्ताको एकचोटी स्वास्थ्य परीक्षण र खाना खर्च बाफत मासिक ६ हजार रुपियां दिने गरेको थियो ।
आफन्तले सहयोग नगर्दा शौचालय जानका लागि पनि अरुको सहारा माग्नु परेको ४४ वर्षीया डिकरीदेवी ऐरले गुनासो गरिन् ।
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट रुद्र उपाध्ययसंग बुझ्न खोज्दा उनले भने, ‘पहिले के हुन्थ्यो थाहा भएन अब समय मिलाएर चेकचांज गरी दिउंला ।’ उनले औषधि उपलब्ध गराई रहेको दाबी गरे ।
ठूलठूला समस्याहरुले गर्दा उनीहरु समस्यामा परेको भन्दै जनस्वास्थ्य निरीक्षक कविन्द्र विष्टले उनीहरुको औषधि तथा उपचारको व्यवस्था मिलाउने आश्वासन दिए ।

प्रतिक्रिया