सिण्डिकेट, कार्टेलिङ नगरौं : अर्थमन्त्री

Shankar-Koiralaकाठमाडौं, १८ साउन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले प्रतिस्पर्धात्मक बजारमा सिण्डिकेट र कार्टेलिङ नगर्न ट्रक कन्टेनर व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघको १३ औं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनको आज (शुक्रवार) काठमाडौंमा उद्घाटन गर्दै मन्त्री कोइरालाले यसबाट समय र सामानमा लागत बढेको गुनासो आएकाले त्यसतर्फ सचेत हुनु पर्ने बताए ।
उनले अन्यत्रभन्दा दूरीको अनुपातमा ट्रकको भाडा दर बढी भएको भन्ने शिकायतलाई कम गर्न व्यवसायी आफैं लाग्नुपर्ने बताए ।
वाणिज्य मन्त्री समेत रहेका कोइरालाले अरनिको राजमार्ग अन्तर्गत बन्न लागेको सुख्खा बन्दरगाहका लागि सरकारले पर्याप्त बजेट छुट्याएको जानकारी दिए । उनले त्यसबाट चीनसंगको व्यापारिक कारोवारमा थप सुधार आउने विश्वास व्यक्त गरे ।
खुल्ला ट्रकलाई देशव्यापी रुपमा कन्टेनर बनाउने अभियानलाई सरकारले नीतिगत रुपमा अघि बढाएको जानकारी दिएका मन्त्री कोइरालाले यसक्षेत्रको सुधारको पहिलो हकदार कन्टेनर व्यवसायी संघ भएको बताए ।
चीनसँगको प्रमुख व्यापारिक नाका खासा सडक जोखिमपूर्ण बन्दै गएको भन्दै उनले त्यसलाई तत्काल सुधार गर्न व्यवसायीहरुले माग गरेका थिए ।
यसैबीच, अस्थायी तथा ज्यालादारी कर्मचारीहरुले बढेको तलवको माग गर्दै आज (शुक्रबार) अर्थ मन्त्रालय घेराउ गरेका छन् । उनीहरुले अत्यन्तै न्यून तलवमा आफूहरुलाई काम लगाइएको भन्दै विरोध गरेका हुन् ।
कर्मचारीहरुले भर्खरै बढाइएको तलवमा आफूहरुलाई नपारिएको भन्दै दुई घण्टा मन्त्रालय प्राङ्गणमा भेला भएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया