संवैधानिक, राजनीतिक जटिलता हटाउन माग

suryabahadur-Dhankutaकाठमाडौं, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिम्मेवार दलको हैसियतले सहभागी हुनुपर्ने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ ।
राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर निर्वाचनलाई चुनौति र अवसरका रुपमा लिन आग्रह गरेका हुन् ।
‘मुलुकको एक जिम्मेवार र निर्णय दल भएकाले नयाँ संविधान निर्माणमा अह्म भूमिका राख्नु परेको छ,’ थापाले भनेका छन्, ‘यस यथार्थलाई दृष्टिगत गरी मंसिर–४ गतेको निर्वाचनलाई चुनौति र अवसर दुबै रुपमा लिएर तयारीमा जुट्न निर्देशन दिन्छु ।’
सरकार र निर्वाचन आयोगको तयारीले मंसिरमा तोकिएकै समयमा निर्वाचन हुने देखिएको अध्यक्ष थापाले बताएका छन् ।
‘सरकारको तयारी बाबजुद केही राजनीतिक र संवैधानिक समस्याको समाधान विलम्ब भएकाले ११ बुँदे सहमति पक्षधर शक्तिहरुले तत्काल समस्याको निराकरण गरी अन्यौलको वातावरण हटाउनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनरत दल र नयाँ जनगणना अनुसार क्षेत्र निर्धारणमा देखिएको विलम्बले पनि निर्वाचनमा आशंका उत्पन्न भएको राप्रपा अध्यक्ष थापाले जनाएका छन् । उनले उच्चस्तरीय राजनीतिक समितिलाई छिटो निर्वाचनको वातावरण बनाई दिन भनेका छन् ।
यसैबीच, अध्यक्ष थापाले काठमाडौंको चावहिलस्थित केन्द्रीय कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी लिनु पूर्व अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए ।

प्रतिक्रिया