समितिले दलहरुसँग अलग परामर्श गर्ने

4 dal ka ne ji haruकाठमाडौं, १८ साउन । उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनमा रहेका नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपालसहितका दलहरुसँग अलग–अलग परामर्श गर्ने निर्णय गरेको छ ।
राजधानीमा आज (शुक्रबार) बसेको समिति बैठकले संविधानसभाको दोस्रो निर्वाचनका लागि वातावरण बनाउन छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको हो ।
समितिमा रहेका एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले असन्तुष्ट दलहरुसँग छलफल गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्ने छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमालेका नेता रघुजी पन्तले नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायत दलसँग समितिमा आवद्ध दलहरुले बेग्लाबेग्लै वार्ता गर्ने निर्णय भएको जानकारी दिए ।
‘निर्वाचनमा सहभागी हुने सन्दर्भमा उनीहरुले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर जानुपर्छ,’ समितिको निर्णयका बारेमा उनले भने ।
मंसिर–४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन हरहालतमा सफल पार्नु देशको अपरिहार्य आवश्यकता रहेको समितिले निष्कर्ष निकालेको छ ।
बैठकले निर्वाचनको तयारी पनि तीब्र रुपमा अघि बढाउने निर्णय गर्दै राजनीतिक माहोलमा पनि जोड दिएको छ ।
एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्न समितिभित्रको एकतालाई अझ सदृढ तुल्याएर जानुपर्ने बताए ।
‘अन्य दलसँग समेत थप वार्ता र सम्वाद गरी सहमतिमा ल्याउने बैठकको निष्कर्ष छ,’ उनले भने ।
नेता श्रेष्ठले फरक चासो र माग राखिरहेका दललाई सम्बोधन गरेर जानुपर्ने उल्लेख गरे । समितिको अर्को बैठक शनिबार पुन: बस्ने छ ।

प्रतिक्रिया