निर्वाचन एकपार्टीका लागि हुन लागेको होइन

Narayankaji-Shresthaकाठमाडौं, १६ साउन । एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक लाईनका कारण नेकपा–माओवादी मंसिर ४ गतेको संविधानसभा निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको बताएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा श्रेष्ठले नेकपा माओवादी निर्वाचनमा आउने सम्भावना कम रहेको भएपनि आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्ने बताए ।
श्रेष्ठले आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्दा गर्दै पनि नआए निर्वाचन नरोकिने बताए । ‘निर्वाचन कुनै पार्टीका लागि भनेर घोषणा गरिएको हुंदैनन्,’ उनले भने, ‘त्यसैले सबै नै आउंछन् भन्न सकिंदैन ।’
विनासर्त वार्ता गर्ने जनाएका उनले बार्ताका लागि कुनै विषय चाहिने भएकाले आफूहरुले मंसिर ४ को निर्वाचनका लागि भनेर पत्रमा लेखिएको बताए ।
उनले नेकपा–माओवादीलाई पठाएको पत्रमा कुनै सर्त र अशिष्ट भाषाको प्रयोग नगरिएको बताए । नेकपा माओवादी नआए पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वका पार्टी निर्वाचनमा सहभागी हुने बताए ।

प्रतिक्रिया