क्षितिज भण्डारीलाई कारबाही गर्न माग

Kshitiz Bhandariकाठमाडौं, १५ साउन । नेपाल विद्यार्थी संघमा महाधिवेशन आचार संहिता उलंघन गरेको भन्दै संस्थापन र असन्तुष्ट समूहबीच पुन: विवाद छताछुल्ल भएको छ ।
केन्द्रीय सदस्य क्षितिज भण्डारीले आफू खुसी केन्द्रीय क्याम्पस त्रिभुवन विश्व विद्यालयमा नेविसंघको समिति गठन गरे पछि महाधिवेशनका लागि बन्दैगएको वातावरण विग्रन लागेको असन्तुष्ट पक्षका नेता ऋषिकेश जंग शाहद्वारा आज (मंगलबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय प्रतिनिधीका रुपमा खटिएका भण्डारी र अर्का एक सदस्यबीच सहमति नै नगरेर आफू खुसी भण्डारीले समिति गठन गरे पछि नेविसंघमा तनाव उत्पन्न भएको हो ।
आर्थिक अनियमितता लगायत विभिन्न प्रकरणमा मुछिएका भण्डारीको गतिविधीबाट नेविसंघका ४८ केन्द्रीय सदस्य रुष्ट भएका हुन् । भण्डारीले हाल सम्म चन्द संकलनका लागि लगेको चन्दा रसिद पनि फिर्ता गरेका छैनन् ।
नेता शेरबहादुर देउवा निकट विद्यार्थी नेताहरुले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर आचार संहिता र महाधिवेशन विपरितका क्रियाकलाप गर्ने केन्द्रीय सदस्य भण्डारीलाई संगठनबाट छ महिनाका लागि निलम्बन गर्न माग गरेका छन् । उनीहरुले भण्डारीलाई महाधिवेशनमा भाग लिनबाट बञ्चीत गराउन समेत माग गरेको विज्ञप्तिमा उल्लेख छ ।Rishi Kesh Jung Shaha
असन्तुष्ट विद्यार्थी नेताहरुले अध्यक्ष रञ्जीत कर्ण लाचार भएर बसेको भन्दै महाधिवेशन तोकिएकै समयमा गराउन तदारुकताका साथ लाग्न आग्रह गरेका छन् । उनीहरुले संगठन भित्र भएका आर्थिक अनियमितता र चन्द प्रकरण बारेमा छानविन गर्न पनि नेतृत्वसँग माग गरेका छन् ।
विद्यार्थी नेता शाहसहित हरि भट्टराई, उदयकान्त यादवलगायतका ४८ केन्द्रीय सदस्यले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् । (तस्विर सौजन्य ऋषिकेश जंग शाह)

प्रतिक्रिया