ठीक समयमा संसदीय बोर्ड गठन हुन्छ : सिंह

Prakashman-Shingकाठमाडौं, १५ साउन । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सभापति सुशील कोइरालाले ठीक समयमा संसदीय बोर्ड विस्तार गर्ने बताएका छन् ।
काठमाडौंको ठमेलस्थित आफ्नै निवासमा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै महामन्त्री सिंहले ठीक समयमा संसदीय बोर्ड घोषणा हुने बताए । ‘संसदीय बोर्ड अहिले पनि पूर्ण रुपमा नै छ,’ उनले भने, ‘पार्टीको विधान अनुसार सभापतिले बढीमा आठ जनासम्म सदस्य उपयुक्त समयमा थप गर्नु हुने छ ।’ उनले आवश्य परेमा सभापति कोइरालाले उपयूक्त समयमा बोर्ड गठन गर्ने दोहर्‍याए ।
निर्वाचनमा टिकट बाँड्ने संसदीय बोर्डमा सदस्य नियुक्त गर्ने भनिए पनि कोइरालालो हालसम्म पूर्णता दिन सकेका छैनन् । बोर्डमा पदाधिकारी र केही मनोनित सदस्य रहने व्यवस्था छ । निर्वाचन नजिकिँदै गर्दा पनि कांग्रेसले बोर्ड गठनमा उल्लेख्य ध्यान दिन सकेको छैन ।
मंसिर–४ गते हुने संविधानसभा निर्वाचनका लागि सम्भवत भदौदेखि उम्मेद्वारी घोषणा गरेर दल र नेताहरुले मत माग्न शुरु गर्ने छन् ।
बुथ कमिटीसम्मका समितिहरुलाई परिचालन गर्ने योजना बनाएको बताएका सिंहले घोषणा पत्रको तयारी पनि शुरु भई सकेको उल्लेख गरे । उनले भने, ‘जिल्ला अनुगमनमा गएका केन्द्रीय नेता र महासमिति बैठकका एजेण्डालाई समेटेर घोषणा पत्र बनाउँछौं ।’
महामन्त्री सिंहले लोकतान्त्रिक लिखित संविधान जारी गर्न कांग्रेस प्रथम पार्टी बन्नु पर्ने दोहर्‍याएका छन् । ‘कांग्रेसले मात्रै लोकतान्त्रिक लिखित संविधान जारी गर्न सक्छ,’ उनले भने, ‘अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनै पर्छ ।’
एकीकृत माओवादीले अघिल्लो संविधानसभामा ठूलो पार्टी भएर पनि संविधान जारी नगरेको भन्दै उनले प्रजातान्त्रिक शक्तिनै बहुमतमा आउनु अनिर्वाय रहेको उल्लेख गरे ।
महामन्त्री सिंहले संक्रमणकालीन अवस्थालाई बुझेर कांग्रेस निर्वाचनमा होमिएको बताए । उनले नेकपा–माओवादीलाई वार्तामा ल्याउनै पर्ने पनि उल्लेख गरे । ‘प्रयास गर्दा पनि कुनै दल निर्वाचनमा आउँदैन भने निर्वाचन रोकिँदैन,’ उनले भने ।
यसैबीच, गणेशमान सिंह फाउन्डेसनले बाढी–पीडितहरुको लागि राहत संकलनको अभियान शुरु गर्ने भएको छ । आजै ठमेलमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका संयोजक प्रभासमान सिंहले शनिबार देखि राहत वितरणको अभियान चलाउने बताए । संकलन भएको राहत सरकार मार्फत वितरण गर्ने सिंहले उल्लेख गरे ।

प्रतिक्रिया