मर्मतकै क्रममा तामाकोशीको सुरुङ चर्कियो

uppre_tamakosiदोलखा, १४ साउन । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पावर हाउस र ट्रान्सफरमर क्यावनको सुरुङ चर्किएर पुन: समस्या उत्पन्न भएको छ ।
केही समय अघि सुरुङ एकसय मिटर चर्किएर समस्या आएपछि मर्मत कार्य जारी रहेको छ । मर्मत कार्य नसकिँदै पुन: ट्रान्सफरमर क्यावनको मर्मत भएको सुरुङ नै चर्किएको हो । निर्माण पक्षको लापरबाहीका कारण सुरुङ चर्किएको आरोप लागेको छ ।
ठेकेदारले निर्माण पूरा गरी परामर्शदाताले गुणस्तर मापन गरे लगत्तै सुरुङ चर्किएर फुटेको आयोजनाले जनाएको छ । पावर हाउस र ट्रान्सफरमर क्यावनभित्र नियमित काम गर्ने प्राविधिकहरु भित्रको भूगर्भ आधार राम्रो चट्टान भएपनि आधा भाग खराब रहेकाले समस्या आएको आयोजनाको दाबी छ ।
पटक–पटक समस्या आउनुमा परामर्शदाताका भूगर्भविद्हरु गम्भीर नरहेको आयोजनाले आरोप लगाएको छ ।
पावर हाउसको सुरुङमा समस्या आएपछि निर्धारित समयभन्दा ४ महिना काम ढिला भएको छ । अन्तर्राष्ट्रिय दररेटमा भुक्तानी गर्ने गरी दैनिक ज्यालादारीमा चर्किएको सुरुङ सिनो हाइड्रोले मर्मत गरिरहेको छ । चर्किएको भागको मर्मतका लागि ४ करोड खर्च हुने अनुमान छ । यद्यपि, मर्मतपछि पुन: सुरुङ फुटेकाले त्यसको पनि खर्च थपिने कर्मचारीहरुले जनाएका छन् ।
समस्या देखिएपछि परामर्शदाताले पेनस्टक साफ्टभन्दा उपल्लो सुरुङको काम रोकेर डिजाइन परिवर्तनको गृहकार्य गरिरहेको छ । डिजाइन परिर्वन हुँदा पेनस्टक साफ्टदेखि भैंसे अडिटसम्मको ५ किलोमिटर सुरुङ मध्ये साढे ३ किलोमिटरको डिजाइन परिवर्तन हुने छ ।
डिजाइन परिवर्तन गर्दा ८ प्रतिशत अथवा २९ डिग्रीको स्लोपमा निर्माण भइरहेको सुरुङको बाँकी शुन्य दशमलव ३ प्रतिशत अर्थात १ डिग्री स्लोपमा निर्माण हुनेछ । डिजाइन परिवर्तन गर्दा २ सय ६० मिटर ठाडो पेनस्टक साफ्ट थप निर्माण गर्नु पर्छ ।
डिजाइन परिवर्तन गर्दा आयोजनाको समय एकवर्ष थप हुनुका साथै ५ अर्बसम्म लागत वृद्धि हुने अनुमान छ । आयोजनाको काम अहिले पनि ६ महिना ढिला भईसकेको छ । डेढ वर्ष ढिला हुँदा आयोजनाले त्यस अबधिमा कमाउने १५ अर्ब रुपियाँ समेत गुमाउने छ ।
आयोजनाको अनुगमन सुरपरीवेक्षणका लागि परामर्शदाता कम्पनी नर्वेजीयन र जर्मन कम्पनी नरकन्सल्ट ए.एस.– लाहमेर जेभीसँग विदेशी र स्वदेशी भूगर्भविद् छन् । उनीहरुले गुणस्तर परीक्षण गरेपछि पनि समस्या आएको हो ।
चर्किएको ठाउँमा तीन महिनादेखि निरन्तर रुपमा मर्मत कार्य जारी छ । पावर हाउस खनेर सट्क्रिट गरेपछि ४ महिना नपुग्दै चर्किएको थियो । पावर हाउस र ट्रान्सफरमरको सुरुङ २८ मिटर अग्लो छ ।
जमिनको बाहिरी सतहबाट डेढ किलोमिटर भित्र विभिन्न किसिमका ३ किलोमिटर सुरुङ निर्माण भएको पावर हाउस भित्र ४५ डिग्री सेल्सेससम्म तापक्रम हुन्छ । (फाईल तस्विर)

प्रतिक्रिया