निजामतीलाई…अस्थायी, ज्यालादारीलाई ऐन

Asthai, Jyaladari ra Karar Karmachariकाठमाडौं, १३ साउन । सरकारका विभिन्न कार्यालय र संस्थानमा रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले स्वत: स्थायी गर्न माग गरेका छन् ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज (आइतवार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभिन्न ११ बुँदे माग अघि सारेका हुन् । उनीहरुले माग पुरा गराउन सरकारलाई दवाव दिने उदेश्यले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
संघका आन्दोलनका कार्यक्रम अनुसार साउन–१६ गते विहान साढे ११ बजेदेखि विहान एकघण्टा सामान्य प्रशासन मन्त्रालयमा धर्ना, साउन–१८ गते विहान साढे ११ बजेदेखि एकघण्टा अर्थमन्त्रालयमा धर्ना र साउन–२१ गते कर्मचारीहरुले काम बन्द गर्ने, सरकारी र रातो नम्बर प्लेट भएका सरकारी सवारी साधन चल्न नदिने छन् ।
संघका अध्यक्ष राजन कार्कीले आफूहरुका मागलाई सरकारले पुरा गर्न तदारुकता नदेखाए थप कडा आन्दोलन गर्ने जनाए ।
२ सय ४० दिन काम गरिसकेका सबै अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई स्वतह स्थायी गर्नुपर्ने, स्थायी सरह तलब भत्ता, पोशाक विदा खर्चा, बीमा, सञ्चय कोष र ग्रेडको ब्यवस्था गर्नुपर्नेमा माग राखेको छ ।
यस अघि सरकारले निजाती कर्मचारी सेवामा स्वत: एकतह बढुवा गरे पनि अस्थायी, करार र ज्यालादारी कर्मचारीका लागि ठोस निर्णय गरेको थिएन । सो निर्णयले गर्दा सरकारलाई पदस्थापनामा समस्या भएको छ ।
निजामती कर्मचारीले राज्यका तर्फबाट धेरै सुविधा पाए पनि अस्थायी, ज्यालादारी र करारका कर्मचारी सो सुविधाबाट टाढै बस्दै आएका छन् ।

प्रतिक्रिया