पूर्वराजाको स्वागतमा समर्थकको घुँईचो

Gyanendra-Shaha-Rajaधनगढी, ७ साउन । सुदूरपश्चिमका बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई राहत वितरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार कैलालीको धनगढी आईपुगेका छन् ।
काठमाडौंबाट पत्नी कोमल शाहसहित बुद्ध एयरको नियमित उडान मार्फत पूर्वराजा शाह करीव दुई बजे धनगढी विमानस्थलमा अवतरण भएका हुन् । उनलाई बुहारी हिमानी र ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरेका थिए ।
पूर्व राजा शाहको स्वागतमा समर्थकले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरे ।
पूर्व राजा शाहले विमानस्थल पसिरमा करीव आधा घण्टा पैदल हिडेर समर्थकले दिएका फूल गुच्छा लिएका थिए । सो क्रममा उनले सर्वसाधारणसँग भलाकुसारी समेत गरे ।
उनी कडा सुरक्षा व्यवस्थाका साथ विमानस्थलबाट बा ४ च ३८०७ नम्बरको ल्याण्डक्रुजर गाडीबाट धनगढी आए । पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीकै चौराह नजिकमा उपस्थित समर्थकहरुको स्वागत र फूल गुच्छा पनि लिएका थिए ।
पूर्वराजाको सुरक्षार्थ कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षकसहितको टोली खटिएको छ ।
यसअघिको भ्रमणमा भन्दा उल्लेख्य सर्वसाधरणहरुको उपस्थिति रहेका थियो । पूर्वराजा ज्ञानेन्द्र शाह यस पटक हसिँलो देखिएका थिए ।
उनको भ्रमण बाढीपहिरोबाट प्रभावित दार्चुला, कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरमा हुने सम्वाद सचिवालयका सचिव फणिन्द्र पाठकले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमण साउन–१७ गतेसम्म हुनेछ ।
पाठकले पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण हिमानी ट्रष्ट मार्फत बाढीपहिरोबाट प्रभावितहरुलाई केही नगद तथा जिन्सी वितरण गर्ने रहेको बताए । यसका लागि हिमानी आइतबार छोराछोरीसहित धनगढी आएकी छन् ।
सपरिवार धनगढीस्थित रुवस होटलमा बसेका पूर्वराजाले केही मठमन्दिरमा पूजा र शुभचिन्तकलाई पनि भेट्ने कार्यक्रम छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले साउन–९ गते दार्चुला, ११ गते कैलालीको टीकापुर र १३ गते कञ्चनपुरको महेन्द्रनगरमा राहत वितरण गर्ने कार्यक्रम रहेको सचिव पाठकले बताए ।

प्रतिक्रिया