पत्रकारको भवनमा अस्थायी साधन-यौनक्रिडा

Udayapur-Patrakarगाईघाट, ८ साउन । निर्माण समिति निस्कृय हुँदा नेपाल पत्रकार महासंघ उदयपुर शाखाको नवनिर्मित भवन वेवारिसे बनेको छ ।
यतिबेला सो भवन युवायुवतीको डेटिङस्थल र यौन क्रिडा गर्ने थलोमा परिणत भएको छ । पाँच बर्षअघि सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला विकास समिति र नगरपालिकाको करीब २० लाख लागतमा भवन निर्माण कार्य शुरु गरिएको थियो ।
निर्माणका लागि सबै तिरबाट सहयोग जुटेपनि निर्माण समितिले चासो नदिएको स्थानिय पत्रकारहरुको आरोप छ ।
भवनको बिषयलाई लिएर प्रश्नहरु उब्जिन थालेका छन् । भवन निर्माणको विषयमा स्वंयम पत्रकारले पनि बेलामौकामा खबरदारी गर्ने गरेका छन् ।
भवन नजिकै घर भएका स्थानीय तारानाथ आचार्यले महासंघ भवनमा दिउँसै युवायुवती लठ्ठारिने गरेको बताए ।
‘दिउँसो भन्दा अझ बढि साँझको समयमा युवायुवतीको यौनक्रिडास्थल नै बनेकाले छरछिमेकमा परिवारसँग बस्दा लाजमर्दो भएको छ,’ उनले भने । एक दुई पटक त अत्याचार भएपछि प्रहरीलाई समेत खवर गरेको उनले बताए ।
प्रहरीले समेत भवन स्थलबाट युवायुवतीको जोडीलाई पक्राउ गरिसकेको छ ।
जिल्ला बिकास समितिको कार्यालय भन्दा झण्डै एकसय पचास मिटर नजिक तल रहेको भवन वातावरणको दृष्टिकोणले उपयुक्त एकान्त स्थलमा पर्छ । भवन भित्र दैनिकजसो अस्थायी साधन कण्डम, लागूपदार्थका बोतल भेटिने गरेको आचार्यले बताए ।
भवन आसपासका क्षेत्रमा परिवारसहित बहालमा बसोबास गर्दै आएका केही स्थानीय भने दृश्य हेर्न नसकेर कोठा समेत सरेको आचार्यले बताए ।
अरुको गलत क्रियाकलापको समाचार लेख्ने पत्रकार कै संस्था सर्वसाधरणको दैनिक टिकाटिप्पणी र चियागफको बिषय बन्ने गरेको स्थानीय महेश पौडेलले बताए ।
भवनको बिषयलाई लिएर सार्वजानिक ठाउँमा हाँसोको पात्र बन्ने गरेको प्रेस चौतारी उदयपुरका अध्यक्ष भरत खड्काले बताए ।
भवन निर्माण समितिका संयोजक समेत रहेका क्रान्तिकारी पत्रकार संघका अध्यक्ष यदु ढकाल, समिति सचिव तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष महेश्वर चाम्लिङलगायत केही व्यक्तिको स्वार्थका कारण भवन निर्माण हुन नसकेको चौतारीको आरोप छ ।
महासंघका अध्यक्ष तथा भवन निर्माण समितिका सदस्य सचिव महेश्वर चामलिङले भवनमा १६ लाख खर्च भईसकेको बताए । उनले ५/६ लाख रकम जुटे भवन निर्माणको काम सम्पन्न हुने बताए ।
निर्माण समितिका अध्यक्ष तथा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष ढकालले आफूलाई भवन निर्माणमा लागेको रकमका बारेमै जानकारी नरहेको बताए ।
त्यसैगरी निर्माण समितिका कोषाध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य भक्तिबिलाख पोखरेलले पनि आफू पनि खर्चको बारेमा अनभिज्ञ रहेको बताए । उनले शुरुमा आफूले चासो दिएपनि कसैको साथ सहयोग नपाएपछि वास्ता गर्न छाडेको बताए ।
भवनको आयव्यय समितिले सार्वजानिक गर्न नसक्दा आर्थिक वर्ष २०६९/७० मा जिविसले बिनियोजन गरेको तीनलाख समेत खर्च हुन सकेको छैन ।
यता, भवनकै विषयलाई लिएर उदयपुरमा ७ बर्ष देखि पत्रकार महासंघको नयाँ सदस्यता खुलाईएको छैन् ।

प्रतिक्रिया