पहिरोमा एकैपरिवारका पाँच जना वेपत्ता

Dolakha District

दोलखा, ७ साउन । अविरल वर्षासँगै आएको पहिरोले दुई घर बगाउँदा दोलखाको मार्वु–१ मा ७० वर्षीयबृद्धासहित पाँचजना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा आज (सोमबार) विहान मार्वु–१, कार्ना निवासी पाले थामीका पाँच जनाको परिवार बेपत्ता भएको हो । वेपत्ता हुनेमा ७० वर्षीय पाले थामी, उनकी पत्नी शिवालक्ष्मी थामी, छोरी जमुना थामी, नाती विनु थामी र नातिनी सञ्जु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ओमप्रसाद अधिकारीले जनाकारी दिए ।
वेपत्ताहरुको खोजी कार्यका लागि ईलाका प्रहरी कार्यालय सिगटीबाट प्रहरी परिचालित गरिएको छ । स्थानीय र नेपाली सेनाको टोली पनि बेपत्ताहरुको खोजीमा जुटेको छ ।
पहिरोका कारण सोही ठाउँका सात घर परिवार विस्थापित भएका छन् । स्थानीय युवा गुरुङ, सखबहादुर थामी, टहलबहादुर मगर, चलचित्र मगर, सचेत थामी पूर्णबहादुर मगरलगायतका परिवार विस्थापित भएको प्रहरी भनाई छ ।
यसैबीच, म्याग्दी जिल्लाको भकिम्ली पानीश्वारामा ६ वटा घर पहिरोमा पुरिदा दुई जनाको मृत्यू भएको छ । पहिरो जाँदा ६५ वर्षीय मनवहादुर घर्तीमगर र उनकी पत्नी नेत्रकुमारीको मृत्यू भएको प्रहरीले जनाएको छ । पहिरोका कारण थप तीनघर जोखिममा छन् ।

प्रतिक्रिया