मुद्रास्फिती आठ प्रतिशतमा राख्छौं : खतिवडा

Nepal-Rastra-Bankकाठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७०/०७१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्रबैंकका गभर्नर युवराज खतिवडाले आज (आइतबार) राजधानीमा मौद्रिक नीति सार्वजनिक गरेका हुन् । चालु आर्थिक बर्षको बजेटले लिएको लक्ष्य हासिल गर्ने उदेश्यसहित नीति तर्जुमा गरिएको उनले बताए ।
मुद्रास्फीतिलाई ८ प्रतिशतमा सीमित राख्दै साढे ५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न सहयोग पुर्‍याउन कर्जाको व्यवस्था गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको खतिवडाले बताए । मौद्रिक नीतिमा पुनकर्जाको दर केही घटाइएको छ ।
केन्द्रीय बैंकले कृषि, जलविद्युत, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय र तोकिएका अन्य उत्पादनशील क्षेत्रका लागि पुन:कर्जा दर ६ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट लिन पाउने व्याज भने ९ प्रतिशत नै कायम गरिएको छ ।
तोकिएका रुग्ण उद्योग, घरेलु तथा साना उद्योग, निर्यातमूलक व्यवसायलगायत तोकिएका समुदायद्वारा सञ्चालित साना व्यवसायका लागि पुन:कर्जा दर डेढ प्रतिशतबाट १ प्रतिशतमा झारिएको छ ।
वाणिज्य बैंकहरुले २०७२ असार सम्ममा कृषि र उर्जा क्षेत्रमा कम्तिमा १२ प्रतिशत समेत उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरुका लागि तोकिएको न्यूनतम चुक्ता पूँजी २०७१ असार सम्ममा अनिवार्य रुपमा पूरा गर्नुपर्ने व्यवस्था गरेको छ ।
नयाँ मौद्रिक नीतिमा घरजग्गा कर्जा सम्बन्धमा पुरानै नीतिलाई निरन्तरता दिइएको छ । बाणिज्य बैंकहरुको चुक्ता पूँजी सम्बन्धमा पुरानै नीति कायम गरिएको छ ।
तर नयाँ खुल्ने वाणिज्य बैंकहरुको हकमा भने चुक्ता पूँजी २ अर्ब रुपियाँ हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया