देउखुरीमा कटानका कारण विद्यालय टापुमा

DSC04967देउखुरी, ६ साउन । दाङको देउखुरी उपत्यकास्थित लालमटिया–९, नयाँ वस्तीमा रहेको जनज्योति विद्यालय बाढी र कटानका कारण संकटमा परेको छ ।
स्थानीय ढेब्ली खोलाले विद्याललाई चारैतिरवाट घेरा हालेको छ । जनज्योति निम्न माध्यमिक विद्यालयको क्षेत्र खहरे खोलाले कटान गरेपछि टापुमा परिणत भएको हो ।
वर्षा हुनासाथ विद्यालय बन्द गर्नुपर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जुद्धबहादुर कार्कीले जानकारी दिए । ‘विद्यालय परिषर कटान गर्न थाल्यो,’ उनले भने, ‘पानी आउँदा विद्यालय बन्द गर्नुपर्छ ।’
विद्यालयको शौचालय, जग्गा, कक्षा कोठा, चारैतिरबाट खोलाको खतरा छ । भेलबेसरी आउँदा विद्यालयमै पानी पस्ने गरेको विद्यार्थीले बताए ।
जिल्ला विकास समिति दाङले कटान रोकथामका लागि उपलब्ध गराएको १५ थान तारजाली अपुग भएको छ । ‘कटान चारैतिरबाट भैरहेको छ,’ कार्कीले भने, ‘यो १५ थान तारजाली कता लगाउनु ।’
पुल पनि अधुरै
यसैबीच, लालमटिया गाविस हुँदै बग्ने दोलही खोलाको मौरीघाट–नयाँ गाउँ जोड्ने पक्की पुल पुरा हुन सकेको छैन । १२ वर्ष अघिदेखि पुल निर्माणको काम भए पनि पुरा हुन नसकेको स्थानीयको भनाई छ ।
खोलामा पक्की पुल निर्माण गर्ने भन्दै दुवै किनारमा पिलर स्थापना गरिएका छन् । पिलर बने पनि पुल बन्न सकेको छैन ।
पुल निर्माण भएमा मौरीघाट हुँदै देवीकोट, नयाँ गाउँ, लोहारपानी जाने सर्वसाधारणलाई सजिलो हुने छ ।
स्थानीय दधीबहादुर पाण्डेले खोलामा पुल वन्न थालेको धेरै भैसके पनि अझैसम्म काम पुरा हुन नसकेको बताए ।

प्रतिक्रिया