मालपोतका आधा दर्जन कर्मचारी पक्राउ

hatkadiदाङ, ४ साउन । अनियमितता गरेको अभियोगमा दाङ मालपोत कार्यालयका मालपोत अधिकृतसहितका आधा दर्जन कर्मचारी पक्राउ परेका छन् ।
स्थानीय प्रशासनको आदेशमा प्रहरीले मालपोत अधिकृत भरतचन्द्र अधिकारीसहित ६ जना कर्मचारीलाई पक्राउ गरेको हो । बिहीबार तीन जना र आज (शुक्रबार) तीन गरी ६ जना कर्मचारी पक्राउ परेको प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेले जानकारी दिए ।
पक्राउ पर्नेमा मालपोत अधिकृत अधिकारी, नायव सुब्बा नरेश खड्का, गंगाराम पोखरेल र तिलकराम पोखरेल तथा खरिदार जग्गुप्रसाद सुवेदी र काशीराम ओली रहेका छन् ।
सो प्रकरणमा प्रहरीले लेखनदास शुशिल पाण्डे र सागर जिसीलाई पनि पक्राउ गरेको छ ।
उनीहरुले शशिधर भण्डारीको सौडियार–५ मा रहेको एकविघा जग्गा रेशम चौधरीको नाममा किर्ते गरेर नामसारी गरिदिएका थिए । चौधरीले मालपोतका कर्मचारीलाई रकम दिएर जग्गा नामसारी गरेको बयान प्रहरी समक्ष दिएका छन् ।
यसैबीच, अनियमितता गर्ने क्रमचारीलाई पक्राउ गरेको विरोधमा दाङ मालपोतका कर्मचारीले अनिश्चितकालका लागि काम बन्द गरेका छन् । कर्मचारीको आन्दोलनका कारण सयौं सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया