शीर्ष नेताहरुलाई रेग्मीको सुझावै–सुझाव

Khilraj-Regmi'sकाठमाडौं, ३१ असार । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताहरुबीच निर्वाचन तयारीका बारेमा परामर्श भएको छ ।
अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) भएको भेटबार्तामा निर्वाचनको थप वातावरण निर्माण गर्नेलगायत विषयमा छलफल भएको रेग्मीका प्रेस सल्लाहाकार विमल गौतमले जानकारी दिए ।
‘आसन्न संविधानसभा निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण निर्माणका लागि विशेष रुपमा सक्रिय र गम्भीर हुन शीर्ष नेताहरुलाई पुन: आग्रह गर्नु भएको छ,’ सल्लाहाकार गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष रेग्मीले सरकार गम्भीर प्रकृतिका दीर्घकालीन असर पार्ने कुनै निर्णय नगरेको जानकारी शीर्ष नेताहरुलाई गराएका छन् । ‘आगामी दिनमा त्यस्ता दीर्घकालीन असर गर्ने निर्णय हुने छैन,’ अध्यक्ष रेग्मीले भने, ‘सरकारको सम्पूर्ण ध्यान आउँदो मंसिर–४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउनमै केन्द्रित छ ।’
निर्वाचनप्रति सरकार प्रतिबद्घ रहेको र तोकिएकै मितिमा चुनाव सम्पन्न गराउन सरकार दृढतापूर्वक पूर्ण तयारीका साथ अघि बढीरहेको रेग्मीले दोहर्‍याए ।
‘निर्वाचन प्रक्रियाप्रति फरक धारणा राख्ने दलहरुसँग वार्ता, संवाद र छलफललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ रेग्मीको भनाई छ, ’ रेग्मीको भनाई छ, ‘राजनीतिक दलहरुलाई पनि सक्रियताका साथ वार्ता, संवादको पहल गर्न र छिट्टै उपयुक्त निष्कर्षमा पुग्नु पर्छ ।’
निर्वाचनमा यथा सम्भव सबै पक्षको सहभागिता सुनिश्चित हुने गरी निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन उनले चार राजनीतिक शक्तिका शीर्ष नेताहरुलाई सुझाव दिए ।
सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न थालेको आरोप लगाउँदै उच्चस्तरीय राजनीतिक समितिमा रहेका चार राजनीतिक शक्तिका शीर्ष नेताहरुले अध्यक्ष रेग्मीसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया