कैलालीमा तीस घरधुरीको सकुशल उद्दार

Deukhuri-Badiदाङ, २५ असार । अविरल बर्षाका कारण मुलुक भरिको जनजीवन कष्टकर भईरहेका बेला दाङ र कैलाली जिल्लामा पनि दुई दर्जन बढी सर्वसाधारणले सास्ती बेहोर्न परेको छ । उनीहरुलाई सुरक्षा निकायले सकुशल उद्दार गरेर सुरक्षित स्थानमा राखेको छ ।
कैलाली जिल्लामा कर्णाली नदीको बाढीका कारण समस्यामा परेका तीस घरधुरी परिवारलाई सुरक्षा निकायले उद्दार गरेको हो ।
धनसिंह–१, फाटामा पानीको बहाव बढ्न गई कटान गरिरहे पछि स्थानीय बासिन्दाहरुलाई आज (मंगलबार) नौ बजेर ५५ मिनटमा उद्दार गरिएको प्रहरीले जनाएको छ ।
उद्दार गरिएका १५ घरधरीका सर्वसाधारणलाई नारायणपुर–२, बिष्णुकान्तिपुर चौरमा राखिएको छ । बाँकी १५ घर धुरीलाई धनसिंहपुर–३, वटनपुरस्थित आफन्त कहाँ सारिएको हो ।
टीकापुर नगरपालिका–३, दौलतपुर घाटमा कर्णाली नदीको तटबन्धबाट पानी ओभर फ्लोभई गाउँतर्फ प्रवेश गरे पछि सुरक्षा निकायले टोलीले ढुंगा, गिटी लगाई पानी रोक्ने कार्य गरिरहेको छ ।
यता, दाङ जिल्लाको देउखुरी उपत्यकास्थित चैलाही–२, कोलाही गाउँमा बाढीले केही घर डुबाएको छ । आज (मंगलबार) विहान साढे ६ बजे बाढी आउँदा ४/५ घर डुवानमा परेको प्रहरीलाई उदृत गर्दै सहकर्मी दशरथ घिमिरेले जनाएका छन् ।
गणेश चौधरी, वीरबहादुर चौधरी, छव्वु चौधरी र गोले चौधरीलाई डुबानबाट उद्दार गरेर चौलाही गाविसमा बस्ने व्यवस्था मिलाएको छ ।
उनीहरुको काठको घरमा बाढी पसेर करीव ६ लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ ।
यसैबीच, दाङ जिल्लाकै बबई खोलामा बाढीका कराण फसेको ट्रकबाट प्रहरीले चालक र सहचालकलाई आजै (मंगलबार) उद्दार गरेको छ । लक्ष्मीपुर–१ स्थित बबई खोलामा ना.४ ख ९७० नम्वरको ट्रक फसेको थियो ।
सिमेन्ट बनाउने क्लिङ्कर लोड गरी भैरहवातर्फ जाँदै गरेको उक्त ट्रक सोमबार राति खोलामा फसेको थियो । (तस्विर देउखुरीबाट दशरथ घिमिरे)

प्रतिक्रिया