बाढी प्रवेश गरे पछि सप्तरीमा राजमार्ग अबरुद्ध

Koshi Byarejराजविराज, २५ असार । सप्तरीको पोर्ताहास्थित महुली नदीको बाढीकाकारण पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।
खोलाको बाँध भत्किएर बाढी राजमार्गमा पुगेपछि यातायात अवरुद्ध भएको हो । राजमार्गमा करीव ३ फिटसम्म पानीको बहाव रहेको स्थानीयले वताएका छन् ।
बाढीले पोर्ताहा गाविसका वडा नम्वर ६, ७, ८ र ९ मा क्षति पुर्‍याएको छ । बाढीका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । बाढी बढ्ने क्रम जारी नै रहेको स्थानीयको भनाई छ ।
यसैबीच, पहाडी जिल्लामा वर्षा हुने क्रम जारी रहेपछि सप्तकोशी नदीमा बाढीको मात्रा बढेको छ । सोमवार विहान ११ वजेको मापन अनुसार कोशीमा २ लाख ५५ हजार २ सय क्युसेक प्रतिसेकेण्ड पानीको बहाब छ । आईतवार साँझसम्म १ लाख ८९ हजार एकसय १५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
कोशी नदीमा पानीको बहाब बढ्दै गएपछि खतराको संकेतका लागि रातो झण्डा र रातो बत्ती बालिएको छ । ब्यारेजका ५६ मध्ये १७ वटा ढोका खोलिएको सुरक्षाकर्मीहरुले बताएका छन् ।
सप्तकोशीमा पानीको बहाब एकलाख ५० हजार क्युसेक कटेपछि रातो बत्ती बाल्ने गरिन्छ । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेकसम्म पानीको बहाब धान्न सक्ने क्षमता छ ।
यद्यपि, सतहमा बालुवा जमेका कारण केही ठूलो बाढी आउने बित्तिकै पनि ब्यारेजमा समस्या आउने गरेको छ ।
यसैगरी, सोमबार रातिदेखिको बाढीका कारण सप्तरीको बर्मझियास्थित सुन्दरी खोलको बाँध आज (मंगलबार) तेश्रो पटक फुटेको छ । बाँध फुटे पछि करीव १ सय ५० घर डुवानमा परेका छन् ।
बाढीले बर्मझिया गाविसका वडा नम्वर ७ र २ को रामटोल र दास (तत्मा) टोलका डेढसय घर जलमग्न भएको पीडित दीपक रामले वताए । विहान करीव ५ वजे बाँध भत्किएर बाढी गाउँ पसेको थियो ।
त्यसैगरी, चुरे जंगल हुँदै बग्ने पौडाहा खोलको बाँध घोघनपुर–४ मा भत्किएर स्थानीयका ७५ घर डुवानमा परेका छन् । खोलको २ मिटर बाँध भत्किएर गाउँ पसेको छ ।
सहादत मियाँ, यूसुफ मियाँ, सलाम मियाँ, कितावली मियाँ, मोहम्मद मियाँ, सुलेमान मियाँ, जिव्रील हक, हजात मियाँ, नुरमहम्मद लगायत ५० परिवारका ७५ घर बाढीले डुवाएको महेन्द्र जनता उमावि वलुवाका शिक्षक मोहम्मद सलिमले जानकारी दिए ।
बाढीका कारण करीव २० विगाहको धानवाली तथा स्थानीयको अन्नपात पूर्ण रुपमा क्षति भएको छ । स्थानीयको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । चौधरीका अनुसार क्षतिको विवरण आउन बाँकी छ ।
यता, चुरे जंगल हुँदै आएको पानीको भेलले रुपनगरका १२ वटा पसल डुवानमा परेको स्थानीय उत्तम आचार्यले जनाकारी दिए । (फाईल तस्विर)

प्रतिक्रिया