च्याउ चिनेर मात्र खाने गरौं

KB-Mashal‘एउटा उखान छ बाहुनले च्याउ खाएपो स्वाद पाउछ ।’ हुन पनि हो च्याउको स्वाद खानेले मात्र थाहा पाउछ । आजकल च्याउ सबैले खाने गर्दछन् । च्याउ खादा भने च्याउको प्रजाति, विषालु हो वा होइन भन्ने कुराको ख्याल राख्दैनन् । त्यसैले बर्षाको समयमा प्रत्यक बर्ष नेपालमा बिषालु च्याउ खानाले मानिसहरु मर्ने गरेका छन् । जति मानिसहरु मर्नेको सख्या वृद्धि भएपनि च्याउ खाने क्रमचाहिँ रोकिएको छैन । नेपालीहरुको च्याउखाने बानी पुख्यौलीनै हो । नेपालमा मात्र होइन च्याउ खाने प्रचलन विश्वमा धेरै मुलुकमा छ । जगंली युगदेखिनै मानिसले च्याउ खाएर आएको हुन सक्ने आकल पनि गर्न सकिन्छ । खानहुने प्रजातिको च्याउ चिनेर मात्र खानु पर्दछ । च्याउमा मानिसको शरीरमा आवश्यक पर्ने क्याल्सीएम र प्रोटिनलगायत अन्य तत्व समेत च्याउमा पाईन्छ । च्याउलाई वनस्पती जगतको इष्ट समूहमा राखिएको छ । सामान्यतया बुझनका लागि च्याउ वनस्पती जगतको परजीवी हो ।
च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ । ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान हुन्न भन्ने उपदेश दिए बाटै बाहुनले च्याउ खानहुन्न भन्ने उखान बनेको पाइन्छ ।
अहिले सम्मको अनुसन्धानले विश्वमा प्राय सबै देशमा च्याउ पाइने गरेको छ । अनुसन्धानबाट अहिलेसम्म विश्वमा ३ हजार ८ सय च्याउको प्रकार पत्ता लागेको छ । अध्ययनले देखाए अनुसार पत्ता लागेको च्याउको प्रजातिहरुमा १ हजार प्रकारका च्याउ विषालु पाइएको छ ।
प्राकृतिक रुपले जंगल, खेतवारी, खुल्लाचौर र सडक किनारमा समेत बर्षाको समयमा उभ्रिने दुईहजार जातिका च्याउमा भने विष नहुने र खान हुने कुरा अध्ययनले देखाएको छ । बाकी २ सय जातिका च्याउ औषधिको गुणयुक्तका प्रजातिमा पनि भेटिएको छ । ति मध्य ६ जातिका च्याउ अति दुर्लभ मानिएको छ ।
यसरी प्राकृतिक रुपमा पाईने च्याउमा प्रोटिन, भिटामिनहरुमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, एमिनो एसिड जस्ता तत्व पाइने कुरा च्याउको बारेमा अध्यन गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
त्यसैगरी च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा वोसो नगन्य मात्रामा हुन्छ । च्याउमा स्टार्च हुदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रुपमा च्याउको स्वादका पारखीहरुले खाने गर्दछन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्, नार्कले गतबर्ष राजधानी र आसपास मकवानपुरका केही भागमा प्राकृतिक रुपले पाइने जंगली च्याउको ३ सय भन्दा बढि प्रजातिका पहिचान गरेको थियो । अध्ययनमा भेटिएका विषालु च्याउका प्रजातिमा ६ ग्रामको च्याउको छाताले मानिसको मृत्यू समेत हुने अति विषालु च्याउ समेत भेटिएको कुरा च्याउ विशेषज्ञ हरिशचन्द्र वास्तोलाले वताएका छन् ।
भेटिएका विषालु च्याउमा आमानित स्पेसिज प्रजातिका १५ थरि रहेका छन् । यस बाहेक कोपिरनस, डाल्डिनिया, गाइनोफिलसा, रामारिया र रिपियोटा प्रजातिका च्याउ पनि भेटिएका छन् । नार्कको यो अध्ययनले जंगली च्याउमा २० प्रतिशत विषु र १० प्रतिशत मात्र खान हुने तथ्याक रहेको छ ।
जंगलमा पाइने धेरै प्रजातिका च्याउ खानका लागि उपयोगी नभएको कुरा नार्कले जनाएको छ । नार्क बाली रोग महाशाखाका अनुसार विषालु च्याउको पराग हावाले उडाएर एकठाउँबाट अर्को ठाउँमा लैजाने हुनाले जुनसुकै ठाउँमा पनि विषालु च्याउ उम्रन सक्दछ ।
नार्कको अध्ययन अनुसार नेपालको हिमाली हावापानीमा अर्थात चिसो हावापानीमा खानयोग्य भेटिएको गुच्छे च्याउ धेरै पौष्टिकयुक्त हुन्छ । औषधिको रुपमा समेत प्रयोगमा आउने गुच्छे च्याउको वजार मूल्य २०/२५ हजार प्रतिकिलोको हाराहारीमा रहेको छ । वजारको अत्यधिक माग रहेपनि गुच्छे च्याउको अहिले सम्म ब्यवसायिक उत्पादन भने हुन सकेको छैन ।
जंगलमा पाइने देउली, वगाले, गोब्रे, फुटुकी जस्ता जातका च्याउमा विष हुँदैन । यो च्याउ खान हुन्छ भन्ने मान्यताका साथ च्याउ खाने र बजारमा समेत बिक्रीका लागि च्याउ पाइने गरेको छ । यो बाहेक कृषिले लामो समय अध्यन, अनुसन्धान गरेर खानयोग्य च्याउका जातिहरुको वीज उत्पादन गरेर कृषकहरुलाई च्याउखेती प्रति उत्प्रेरणा दिलाउदै च्याउ खेतीको पनि प्रचलनमा आएको छ ।
यसरी खेती गरिने च्याउ खेतीले ब्यवसायिक रुपपनि लिएको छ । कृषिको सिफारिसमा खेती गरिने च्याउमा कन्या, देउले, सिताके, ह्वाइट बटम र साजर कार्जा लगायतका च्याउका जातहरु उत्पादन हुने गरेको छ । कन्या च्याउ ३० देखि ४५ डिग्री सेल्सियसको तापक्रममा उत्पादन हुने भएकाले यसको खेती तराइको भू–भागमा हुने गरेको छ ।
तर खान योग्य भनिएका जातका च्याउ पनि धेरै दिन सम्मको बासी भएमा, च्याउमा ढुसी पलाएमा र यस्तै अन्य कारणबाट पनि विषादि हुन सक्दछ । त्यसैले च्याउ खादा धेरै कुरा ख्याल पुर्‍याउनु पर्दछ । खानु भन्दा पहिले ख्याल पुर्‍याउन सकिएन भने च्याउले मानिसको ज्यानै लिन सक्छ ।
कृषिले सिफरीस गरेको बाहेक प्राकृतिकरुपमा जंगलमा पाइने च्याउहरुको खेतिगर्न सकिन्न । कतिपय जातिका च्याउ अन्य खानासँग खादा पनि विषालु पनि हुनजान्छ । उदाहरणका लागि मादक पदार्थ सेवन गर्दा कोप्रिनस प्रजातिका च्याउ खाएमा विषालु बन्दछ । त्यसैले च्याउ खादा निश्चीत खानेकुरा सँगसगै खान पनि हुँदैन । कुन च्याउ खानयोग्य र कुन च्याउ विषालु हुन्छ भन्ने कुरा छुट्टाउन समाजमा मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्दछन् । सबै जातिको च्याउको छनौट गर्दा यो ज्ञानले काम दिँदैन र अकालमा मानिसको मृत्यू हुने गरेको छ ।
च्याउको बारेमा अध्ययन नहुदा धेरैमा गलत धारणा रहेको पाइन्छ । धेरै विषालु च्याउहरु सेतो रंगको हुन्छ भन्ने धारणा छ । तर एमानिटा प्रजातिको विषालु च्याउ एमानिटा म्युस्कारिया चम्कीलो रातो र पहेलोमा देखिन्छ । कतिपय च्याउको विषले किरा, फट्याङ्ग्रालाई केही हुँदैन ।
त्यसैले मानिसहरुले किराले खाएको च्याउमा विष हुँदैन भन्ने मान्यता पनि छ । तर कुरा त्यसो होइन । च्याउको विषले सबै जीवलाई छुदैन । किरा, फट्याङ्ग्रा नमर्ने च्याउ खादा मानिसको मृत्यू हुन सक्छ ।
चाँदीको भाडामा च्याउ राख्दा विषालु च्याउ थाहा हुन्छ भन्ने गलत धारणा पनि छ । त्यसै गरी पकाएर खादा पनि विष नष्ट हुन्छ, विषालु च्याउले भातरातो बनाई दिन्छ । यस्तो धेरै किसिमको गलत धारणा च्याउ खाने मानिसहरुमा रहेको छ । च्याउको प्रजाति अथवा कुन विषालु हो कुन हैन भन्ने कुरा छुट्टाउन नसक्दा स्वादका लागि च्याउ खानेहरुको बर्षेनी धेरै जनाको मृत्यू भएको छ । विषालु च्याउ खादा शुरुमा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र रिंगटा लाग्ने जस्तो लक्षण देखा पर्दछ । सामान्यतया विरामीले केही समयका लागि सञ्चो भएको जस्तो महसुस पनि गर्दछन् ।
तर विषको असर विस्तारै देखिन थाल्दछ । कुनै विषालु च्याउले खाएको केही घण्टा र कुनै प्रजाति विषालु च्याउले विस्तारै कलेजो तथा मृगौलामा असर पुर्‍याउँदै एकदुई दिनमा पनि मृत्यू हुने कुरा चिकित्सकहरुले बताएका छन् ।
जंगली च्याउ भरसक नखाऔ, हेलचेक्राइ, स्पष्ट पहिचानका अभावमा स्वादका लागि च्याउ खान हुँदैन । पहिचान बिनाको जंगली च्याउ खान भन्दा नखानुनै बेस हुन्छ । पहिला च्याउको बारेमा चिन्ने कोशिस गरौ । च्याउ खाएर मृत्यूको मुखमा पुग्नु भन्दा सजक बनौ ।
[email protected]

प्रतिक्रिया