दैलेख, २५ असार । दैलेख जिल्लामा मध्यपहाडी राजमार्गको पहिलो चरणको ट्रयाक खोल्ने कार्य यस वर्ष पनि अधुरै रहेको छ । स्थानीयबासीको अवरोधका कारण दैलेख र जाजरकोट खण्डमा लक्ष्यअनुसार काम हुन नसकेको हो ।
आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजान खोज्नु, बढी मुआब्जा माग गर्नु र आवश्यक स्ट्रक्चर नहुँदा बस्ती धराप परेको भन्दै स्थानीयबासीले राजमार्गको काममा अबरोध पुर्याएका हुन् । प्रशासनले सर्वपक्षीय सहमतिबाट राजमार्गको कामलाई अघि बढाउन प्रयास गरेपनि त्यसले अझैं सार्थकता पाउन सकेको छैन् ।
निर्माण कम्पनीका अनुसार जाजरकोटको दशेरा गाविसमा तीन किलोमिटर ट्रयाक खोल्न बाँकी छ । दैलेखको नारायण नगरपालिका अन्तर्गत सदरमुकाम खण्डमा कताबाट लैजाने भन्ने अन्यौल कायमै छ । पहाडी क्षेत्रको विकासको मेरुदण्ड मानिने यो राजमार्गको दैलेख खण्डले शुरुदेखि नै अवरोध झल्दै छ ।
त्यस्तै, राजमार्ग आयोजना अन्तर्गतको राकम मेगासिटीमा पनि स्थानीयको अवरोध कायमै छ ।
जिल्लाको पूर्वी भेक मन्घर र मेहेल्तोली गाविसबासी बीचको लडाईले झण्डै एकवर्ष ट्रयाक खोल्ने कार्य पूरै प्रभावित भएको थियो । जिल्ला अदालतको आदेशपछि त्यस खण्डमा ट्रयाक खोलिएको थियो । सदरमुकामबाट जारकोट जोड्न कहाँबाट लैजाने विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न सकेको छैन् । सदरमुकाम बीचबाट लैजाँदा मुआब्जाको बढी समस्या छ ।
प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले किमुगाउँबासीले सहमति जनाएकाले अब समस्या बजारको रहेको बताए ।
समयमै वर्षा शुरु भएकाले पनि राजमार्गको कार्य प्रभावित हुन पुगेको हो । कतिपय ठाउँमा राजमार्ग आसपासका घरहरु पहिरोको खतरामा परेका छन् । ती स्थानमा नाली, होमपाइप, ग्याबिनजस्ता इस्ट्रक्चर प्रयोग नगरिँदा पहिरो र भूक्षयको समस्या देखिएको निर्माण जिम्मा पाएको अनक रोड एण्ड ब्रिज कविर जेभी प्रालिका ठेकेदार गोरेबहादुर तामाङ्गले बताए ।
उनका अनुसार कन्सल्टेन्सीले सर्भे गर्दा स्ट्रक्चरको आवश्यकता औंल्याउन नसक्दा होमपाइप, ग्याबिन पर्खालको व्यवस्था नगरिएको निर्माण कम्पनीको भनाई छ ।
बर्षाका कारण काम भैरहेको स्थानमा डिजेल लैजान नसक्दा दैलेखको बेस्तडा बजारमा ३६ ड्रम डिजेल अलपत्र परेको छ । सुर्खेत र जाजरकोटको सीमानामा रहेको भेरी नदीमा पानीको बहाब बढे कामलाई प्रभाव पारेको छ ।
‘थुप्रै स्थानमा स्ट्रक्चरको आवश्यकता रहेछ,’ अनक रोड एण्ड ब्रिज कवीर जेभी प्रालिका प्रमुख गोरेबहादुर तामाङले भने, ‘सडक आसपासका बासिन्दा होमपाइप, नाली र ग्याबिन चाहियो भनेर अवरोध सिर्जना गर्छन् ।’
दैलेखमा अवरोध भएपछि जाजरकोटमा उपकरण, इन्धनजस्ता अत्यावश्कीय सामाग्री पुर्याउन नसकिएको उनले बताए । अवरोध हटेर स्ट्रक्चरका सामान उपलब्ध भएमा ३ महिनामै ट्रयाक खोलिने निर्माण कम्पनीका ठेकेदार तामाङ्गले बताए ।
प्रतिक्रिया