नेविसंघमा प्रत्यक्ष देखिने नौं गुट–उपगुट

nepal student uniyanकाठमाडौं, २४ असार । आन्तरिक विवाद र गुट–उपगुटमा रुमल्लिएको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति बैठक मंगलबारदेखि राजधानीमा शुरु हुँदैछ ।
बैठकमा महाधिवेशन र जिल्लामा देखिएका विवादका बारेमा छलफल हुने केन्द्रीय सदस्य ऋषि केशजंग शाहले जानकारी दिए । ‘बैठकमा महाधिबेशनमा बारेमा छलफल हुन्छ,’ उनले भने, ‘अब एकजुट भएर महाधिवेशन गर्छौ ।’
विवाद मिलाउनकै लागि कांग्रेस महामन्त्री प्रकाशमान सिंहसहितको बैठकले अध्यक्ष रञ्जीत कर्ण र केन्द्रीय सदस्य शाहलाई जिम्मेवारी दिएको थियो । सो दुई सदस्सीय कार्यदलले तयार पारेको विवाद समाधान सम्बन्धि प्रस्तावमा पनि बैठकमा छलफल हुने छ ।
६ महिनामा भित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कांग्रेस सभापति सुशील कोइरालाले कर्णको नेतृत्वमा १ सय २१ सदस्सीय कार्यसमिति मनोनयन गरेका थिए ।
यद्यपि, नेविसंघको आन्तरिक विवाद र गुटउपगुटका कारण १६ महिना सम्म पनि अधिवेशन हुन सकेको छैन । विवादमा रुमल्लिएको नेविसंघमा प्रत्यक्ष देखि नौं वटा समूह छन् ।
नौं वटा समूहलाई प्रत्यक्ष/अप्रत्यक्ष केन्द्रीय नेताहरुले संरक्षण दिएका छन् । केन्द्रीय नेताहरुको आफ्ना इच्छाअनुरा नेविसंघका नेतहरु चलेका कारण संगठन भताभुङ्ग भएको स्रोतको भनाई छ ।
गुटउपगुटहरुका आ–आफ्ना स्वार्थका कारण नेविसंघको सांगठनिक अवस्था कमजोर भएको नेताहरुको भनाई छ ।
संस्थापन समूहले विश्वास गरेका अध्यक्ष रञ्जीत कर्ण नेतृत्वको समूहलाई कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको संरक्षण रहेको स्रोतको भनाई छ । यो समूहलाई नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले परिचालन गरेका छन् । यो समूहमा भुपेन्द्र जंगशाही, आनन्द त्रिपाठी, बद्री अर्यालका विद्यार्थी नेता छन् । कर्णको समूह अन्य समूह भन्दा बलियो पनि छ ।
केन्द्रीय सदस्य डा.शशांक कोइरालाको संरक्षणमा पूर्वअध्यक्षद्वय विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पनि उपगुट बनाएका छन् । उनीहरुको उपगुटमा मनोजमणि आर्चाय, नीलकण्ठ रिजाललगायतका विद्यार्थी नेता छन् ।
केन्द्रीय सदस्यद्वय अजुर्न नरसिंह केसी र गगन थापाको संरक्षणमा कुन्दन काफ्ले, जिवलाल खरेल, सविन तामाङले नेविसंघमा उपगुट बनाएको स्रोतको आरोप छ । केसी र थापा नाताले ससुरा ज्वाई हुन् ।
सभापति सुशील कोइरालाका नजिकका केन्द्रीय सदस्य दिलबहादुर घर्ती र गोपाल पहाडीले पनि अलग उपगुट बनाएका छन् । मनोनित पूर्व अध्यक्ष महेन्द्र शर्मालाई परिचालन गरेर उनीहरुले पद्मराज पन्त, जित शेरचन, ईन्दु शर्माको उपगुट बनाएका हुन् ।
उता, नेता शेरबहादुर देउवाका पनि दुई वटा उपगुट छन् । केन्द्रय सदस्य प्रकाश शरण महतको संरक्षणमा ऋषि केशजंग शाह र नैनसिंह महरले उपगुट बनाएका छन् । सो उपगुटमा पुष्प शाही, बद्री मुड्भरी, विष्णु पौडेल, लालकुमारी पोखरेल, हरिश भण्डरी, दुरेन राई, डम्बर खड्कालगायतको समूह छ । देउवा समूहमा शाहको उपगुट बलियो मानिनछ ।
केन्द्रीय सदस्य विमलेन्द्र निधि, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीको संरक्षणमा जितजंग बस्नेतले पनि उपगुट बनाएको स्रोतले जनाएको छ । यो उपगुटमा अञ्जान लामा, रत्न कार्की, राजीव ढुङगाना, शुभराम बस्नेतका विद्यार्थी नेता छन् ।
महामन्त्री प्रकाशमान सिंह र बलबहादुर केसीले पनि अलग उपगुट बनाएका छन् । गुरु बरालले र प्रतिमा गौतमले नेतृत्व गरेको उपगुटमा मनोज कोइराला, सन्तोष कट्टेल, ओमा गुरुङ, विवस वाईवालगायतका नेता छन् ।
डिल्ली बजारको जेलमा भ्रष्टाचार आरोपमा सजाय भोगी रहेका केन्द्रीय सदस्य खुमबहादुर खड्का, शंकर भण्डारी र पुष्पा भुसालको पनि नेविसंघमा उपगुट छ । यो उपगुटमा भीमसेन गुरुङ, यादव खड्का, सुमन खड्कालगायतका नेविसंघका नेता छन् ।
त्यसै गरी, सुजाता कोइराला र आनन्दप्रसाद ढुङगानाले पनि अलग उपगुट बनाएका छन् । उनीहरुको संरक्षणमा सृजना अधिकारी, क्षितिज भण्डारी, मनोहरी श्रेष्ठको उपगुट रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया