बाबु–आमाबाटै बोक्सीको आरोपमा कुटपिट

Boksi n Kutpitरोल्पा, २१ असार । रोल्पा जिल्लाको धवाङ गाविसकी १६ वर्षीया किशोरीलाई बोक्सीको आरोपमा आफ्नै बाबु–आमा र मामाले निर्घात कुटपिट गरेका छन् ।
बोक्सीको आरोपमा आमा–बुवा र मामाले कुटपिट गर्दा धबाङ–१ निवासी संगीता सुनारले कष्ट सहनु परेको छ । उनले बोक्सीको आरोपमा बाबु–आमा र मामाले कुटपिट गरे पछि उनीहरु विरुद्ध प्रहरीमा उजुरी समेत गरिन् ।
यसबीच, पीडित संगीतालाई बाबु–आमा र मामाले एकहजार पाँचसय रुपियाँ जरिवाना बुझाई खुट्टामा ढोगेर माफी मागेका छन् । उनीहरुले अबदेखि त्यस्तो व्यवहार नगर्ने प्रतिबद्धता प्रहरी समक्ष गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानामगरले बताए ।
केही दिनअघि स्थानीय ‘धामी झाँक्रीले उनका बाबु–आमालाई तेरी छोरीले बोक्सी सिक्दै छे’ भनिदिएपछि आमा दिलसरी सुनार, बुवा चन्द्रमणि सुनार र मामा तिलक परियारले संगीतालाई पटक/पटक कुटपिट गरेका थिए ।
आमा–बुबा र मामाले बोक्सीको आरोपमा मानसिक यातना दिँदै कुटपिट गर्न थालेपछि बाध्य भएर संगीताले प्रहरीमा उजुरी गरेको बताईन् ।
‘मामा र घरमा बाबु–आमाले दिनदिनै जहाँ भेट्यो त्यहीँ कुट्न थालेपछि प्रहरीमा उजुरी दिएँ,’ संगीताले भनिन्, ‘बाबु–आमा र मामाले जहाँ पायो त्यहीँ कपाल समातेर कुट्न थाले । असह्य भएपछि प्रहरीको शरणमा पुगे ।’
उजुरी पछि प्रहरीले बिहीबार पीडित युवती र बाबु–आमा र मामासँग सोधपुछ गरेको छ । बाबु–आमा र मामाले संगीतालाई यातना दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
‘गाउँमा धामी झाँक्रीले यो त बोक्सी विद्या सिक्दै छे भने पछि कुटपिट गरेका हौं,’ बाबु चन्द्रमणिले बताए । आमा दिलसरीले बोक्सीको आरोपमा छोरीलाई कुटपिट गरेर गलत गरेको भन्दै पछुतो भएको बताएकी छन् । (फाईल तस्विर)

प्रतिक्रिया