दैलेखमा तीनसय कृषकका खेतबारी बगर

Dailekha-Nadi-Katanदैलेख, २२ असार । दैलेखको बडलम्जी–५ का जुलमिया अलीको १८ पाथी वीउ जाने धानखेत बगरमा परिणत होला भनेर सपनामा पनि सोचेका थिएनन् ।
भैरिकालिकाथुम–६ का लल्ते विकको १५ पाथी वीउ जाने खेतबारी गडज्यीउलापादुका खोलाले बगर बनाई दिँदा पनि कसैले पीडा सुनिदिएनन् । जम्बकाँध–१, तिलुकानाका ध्रुबबहादुर शाहीको दश पाथीको सातमुरी धान फल्ने खेत चारपाथीमा सीमित रहला भनेर कल्पनामा सोंचेका थिएनन् ।
समथलफाँट रहेको पादुका जिउलाको विचबाट बग्ने पादुका खोलाले बर्षै पिच्छे तीनमिटरदेखि पाँच मिटरसम्म खेती गर्ने जमिन कटान गरेको झण्डै एकदशक भएको छ । बर्षाको बाढीले बर्षै पिच्छे खेतहरु कटान गरेर बगरमा परिणत गर्दा पनि कटान रोक्ने तर्फ कसैको ध्यान गएको छैन ।
असार–१२ गते साझ परेको बर्षाले गडज्यीउलापादुका खोलामा आएको बाढीले चामुण्डा–४ का गोरेबहादुर रावतको ११ पाथी वीउ लाग्ने खेतवारी, खम्ब रावतको १२ पाथीको खेतवारीसहित भैरीकालीकाथुम, बडलम्जी, जबमुकाध, पादुका र लयाटी विन्द्रासैनी गाविसका करीब तीनसय कृषकका जमिन बगरमा परिणत बनाएको छ ।
‘जिल्ला विकास समितिलगायत सम्बन्धित निकाय र गाविसले नदीको कटान नियन्त्रणमा खासै चासो देखाएका छैन,’ स्थानीय कृषक ध्रुबबहादुर शाहीले गुनासो गरे, ‘मेरो दश पाथीको सातमुरी फल्ने खेत चारपाथीमा मात्र सीमित भयो ।’
जम्बकाँध, लयाटी विन्द्रासैनी , भैरीकालीकाथुम, चामुण्डा, बडलम्जी पादुका गाविसलगायतका झण्डै एकहजार स्थानीयका खेत कटान भईसकेका छन् ।
भैरीकालीकाथुमको गडज्यीउलादेखि कर्णाली राजमार्गसँग जोडिएको पादुका पुलसम्मको हजारौं हेक्टर जमिन बर्षै पिच्छे बगर बन्दै गएको स्थानीयको भनाई छ ।
दैलेखमा पादुका क्षेत्रको पहाडी भागको समथल फाटहरु रहेको एकमात्र खेतीयोग्य जमिन हो । खोलाले पादुकाज्यीउला बर्षै पिच्छे बगरमा परिणत गर्दैछ । राजनीतिक दलका नेताहरु चुनाव आउँदा तटबन्धको कुरा उठाउछन् तर जितेर गएपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ ।
खोलालाई नियन्त्रण गर्न तटबन्धनका लागि धेरैपटक गाउँलेहरु जिविस कार्यालय र नेताहरुको घरमा धाए । यति गर्दा पनि स्थानीयका माग पुरा हुन सकेका छैनन् ।
‘धेरैपटक नेताका घर र कार्यालय धाईयो,’ पादका–३ का मानबहादुर पुरीले भने, ‘खेतको कटान रोक्ने तर्फ कसैको ध्यान गएको छैन ।’

प्रतिक्रिया