युनिटीसँग मेरो कुनै संलग्नता छैन : नेता पाण्डे

surendra-pande-umlकाठमाडौं, २० असार । पूर्वअर्थमन्त्री एवं एमालेका पोलिट्ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले यनिटीकाण्डसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
काठमाडौंमा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर पाण्डेले राजनीतिक चरित्र ध्वस्त पार्न युनिटीकाण्डसँग आफ्नो नामजोडेर समाचार सार्वजनिक भएको आरोप लगाए ।
युनिटी लाइफ इन्टरनेशनलसँग पाँच करोड रुपियाँ लिएको आरोपसहितको समाचार एमाले निकट ‘बुधबार साप्ताहिक’ले प्रकाशित गरे लगत्तै नेता पाण्डेले खण्डन गरेका हुन् । ‘पत्रपत्रिकामा समाचार छापिनु बद्नियतपूर्ण, सुनियोजित छ,’ उनले भने ।
नेता पाण्डेले एमालेको महाधिवेशन नजिकिँदै गर्दा आफ्नो चरित्र हत्या गर्ने नियतले समाचार आएको दाबी गरे । ‘म छानबिनकै चरणमा छु,’ उनले भने, ‘यो महाधिवेशनसँग जोडिएर आएको पनि हुन सक्छ ।’
युनिटी प्रकरणमा ३० महिना तीनदिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले तत्कालीन अर्थमन्त्री पाण्डेलाई नगद र जिन्सी गरेर पाँच करोड रुपियाँ दिएको समाचारमा उल्लेख छ ।
पाठकले पाण्डेलाई पैसा दिएको आरोप–पत्र पनि एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया