कारबाही हुन थाले पछि कार्यकारीको विरोध

Bhaktapur Districtभक्तपुर, १९ असार । भक्तपुर जिल्लास्थित मध्यपुर थिमी नगरपालिकाका कार्यकारी अधिकृत दुर्गादेवी देवकोटाका विरुद्ध मातहतका कमर्चारी आन्दोलनमा उत्रिएका छन् ।
कार्यकारी प्रमुख देवकोटाको कार्यशैलीप्रति असहमति जनाउँदै कर्मचारीहरुले आन्दोलन शुरु गरेका हुन् । कार्यकारी प्रमुख देवकोटाले कार्यालय समयमा तोकिएको काम सम्पादन नगर्ने कमर्चारीलाई कारबाही शुरु गरे पछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीलाई निलम्लवनसहितका कारबाही हुन थाले पछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल नगरपालिका कर्मचारी एशोसिएशनका मध्यपुर थिमी नगरपालिका ईकाई समिति संयोजक रुपेश बोडे श्रेष्ठले जानकारी दिए । उनले विरोध स्वरुप आज (बुधबार) हातमा कालोपट्टी बाँधेर काम गरेको बताए ।
कर्मचारीहरुले राजनीतिक दल, जिल्लास्थित सरकारी तथा गैर सरकारी संघ/संस्था, नगरवासी र नगरपालिकाबीच सुमधुर सम्वन्ध स्थापित गर्नुपर्नेलगायतका माग राखेका छन् ।
कार्यकारी प्रमुख देवकोटालाई सत्य तथ्य कुरा लुकाई झूठो विवरण पेश गरेर काम गर्न लगाएको, अनावश्यक विभिन्न व्यक्ति, संस्था र कर्मचारीलाई कारवाही गर्न थालेकोलगायतका आरोप कर्मचारीहरुको छ ।
कार्यालय समयमा कार्य सम्पादन नगर्ने कर्मचारीलाई प्रमुख देवकोटाले कारबाही शुरु गरे पछि एकजुट भएका कर्मचारीले उनलाई मन्त्रालय फिर्ता पठाउने माग पनि गरेका छन् ।
कर्मचारीहरुले माग पुरा गराउन दवाव दिन असार–२६ र २७ गते कार्यकारी अधिकृतको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया