लगातारको बर्षाले जनजीवन प्रभावित

bajuraबाजुरा,१९ असार । असार पहिलो सातादेखि सुरु भएको अविरल बर्षा अझै नरोकिएपछि बाजुराको जनजीवन नराम्ररी प्रभावित भएको छ । बर्षाका कारण जिल्लाका दर्जनौ बस्तीहरु पहिरोको उच्च जोखिममा छन् भने सडक- बाटोसमेत पहिरो र बाढीले बगाएपछि सवारी आवागमन ठप्प छ भने सामान्य हिडहुल गर्न समेत गाह्रो हुन थालेको छ । यस्तै खानेपानीका मुहान, धारा पधेरा समेत बगेपछि जनजीवन थप कष्टकर बनेको छ ।
साँफे मार्तडी सडक खण्डको आवत जावतमा समस्या आएको छ भने मार्तडी कोल्टीसम्मको बाटोमा निर्माण गरिएका काठे पुल खोलाले बगाएपछि खच्चडसेवा समेत रोकिएको छ । बाटोका कारण समान ढुवानी गर्न नपाउँदा जिल्लाका अधिकांश स्थानीय बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिएको छ । जसका कारण उपभोक्ताहरुले महँगीको मार खेप्नु परेको छ ।
पहिरोको उच्च जोखिममा रहेका बासिन्दाहरु रातभर घरबाहिर बस्न बाध्य छन् । जिल्लाका आटीचौर १ गुम्लागाउँ, बाँधु ९ पीपल डाली, बह्मतोला, साप्पाटा, मार्तडी, कुलदेवमाण्डौ बाह्रविसका अधिकांश बस्तीहरुमा पहिरोको उच्च जोखिम बढेको छ ।
बाढीका कारण जिल्लामा लाखौको भौतिक संरचनामा पनि क्षती पुगेको छ ।

प्रतिक्रिया