बाढी पीडित र प्रहरी बीच झडप /दुई दर्जन घाइते

DSC02833(1)बर्दिया, १८ असार । बर्दियाको राजापुर क्षेत्रमा बाढी पीडितहरु र प्रहरी बीच सोमबार झडप हुँदा ६ जना प्रहरीसहित २३ जना घाइते भएका छन् ।
आफ्ना मागहरु पुरा गराउनका लागि बाढी पीडितहरुले नाराजुलुशसहित राजापुर ईलाका प्रशासन कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो । झडपमा ६ प्रहरी र १७ जना धर्नाकारी घाइते भएको प्रहरीले जनाएको छ । दौलतपुर-९ का रबी कठायत र सन्तराम थारुको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको संघर्ष समितिका सदस्य लक्ष्मण ढुंगानाले जानकारी दिए ।
प्रहरीले शान्तिपूर्ण धर्नामा लाठी प्रहार गरेको भन्दै आक्रोशित पीडितहरुले ईलाका प्रशासन कार्यालय तोडफोड गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् । बाढी पीडितहरुले नदीमा तत्काल तटबन्ध गर्नुपर्ने, बाढीबाट क्षती भएका बाटो र कुलो मर्मत गरिनुपर्ने तथा राहत नभई क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने लगायतका ८ बुँदे माग राख्दै माग राख्दै संघर्ष समिति नै गठन गरी आन्दोलनको घोषणा गरेका थिए ।
सरकारी टोलीले बाढी पीडितको अवस्थाबारे अवलोकन गरी आवश्यक राहतको व्यवस्था गर्ने बताएपनि हालसम्म मागहरु प्रति कुनै सुनुवाई नगरेका कारण धर्ना र तालाबन्दीको कार्यक्रम गरिएको समितिका सदस्य लोकराज ढुंगानाले बताए ।

गत असार-४ गते कर्णाली नदीमा आएको बाढीका कारण बर्दियाको राजापुर क्षेत्रमा २ हजार ५ सय बढी घरहरु डुवानमा परेका थिए भने ५ सय बढी परिवार विस्थापित भएका थिए ।

 

प्रतिक्रिया