दोलखाको मुलावारी गाउँ उच्च जोखिममा

Dolakha Districtदोलखा, १६ असार । लगातारको अबिरल वर्षाले दोलखाको मागापौवा–६, मुलावारीको वस्ती पहिरोको जोखिममा परेको छ ।
भर्खर निर्माण गरिएको विर्ता सेराव्यासी सडकका कारण पहिरो झर्न थाले पछि उच्च जोखिममा परेको स्थानीयको गुनासो छ । वर्षात शुरु भएसँगै परेको पानीले मागापौवा–६ मा रहेका करीव ३५ घरपरिवार उच्च जोखिममा छन् ।
बाढी/पहिरोको उच्च जोखिममा परेपछि रामकृष्ण ढुङ्गेल, ज्ञानबहादुर श्रेष्ठ, कुवेरबहादुर नेपाल, पानमति तामाङ् घर छाडेर सुरक्षित ठाउँमा सरेका छन् । दोलखाको मागापौवा–६, मुलावारी गाउँको पैंतीस घरपरिवार पनि पहिरोको जोखिममा परेको छ ।
पीडित रामकृष्ण ढुङ्गेलले ज्यान बचाउनका लागि आफूहरुले घर छाडेर सुरक्षित ठाउँमा सरेको बताए । ३५ घर बढी घर जोखिममा रहेको उनले बताए । लगातारको वर्षाले सोही ठाउँका ३ वटा खानेपानीका ट्याङ्की पनि बगाएको छ ।

प्रतिक्रिया