भोलि पानी पर्ला भनेर आजै छाता किन्दिनँ म

babuनेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्ष गरेको राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान हासिल गरे कवि बाबु त्रिपाठीले । उनी हरेक वर्षजसो यस प्रतियोतिमा भाग लिन्छन् । ०६८ मा भएको यसै प्रतियोगितामा उनी तृतीय भएका थिए । खासगरि गजल लेखनमा आफ्नो नाम बनाएका उनको यसअघि ‘सालिकहरूको देश’ कवितासंग्रह प्रकाशित थियो । कविता प्रतियोगिताका विवाद र बजारमा हुने बहसबारे उनीसँग गरिएको वार्ता–
बाबु त्रिपाठी/कवि
प्रज्ञा प्रतिष्ठानको पुरस्कार हरेक वर्ष विवादित हुन्छ । तर, तपाईंचाहिँ हरेक वर्ष भाग लिनुहुन्छ नि †
मैले आजसम्म ११ पल्ट राष्ट्रिय कविता महोत्सवमा कविता बुझाएँ । ६ पल्ट छनौटमा परेँ । दुईपल्ट पुरस्कार जितेँ । विवादित भयो भन्दैमा भाग नलिने कुरा आउँदैन । हिम्मत हार्ने कुरा पनि आउँदैन । र, राष्ट्रिय स्तरमा भएको साहित्यिक संस्थाबाट आयोजित हुने यस्तो प्रतियोगितामा भाग लिने मेरो लोकतान्त्रिक अधिकार पनि हो ।
त्यहाँ कसलाई पुरस्कार दिने भन्ने कुरा कविता बुझाउनुअघि नै फिक्स भइसकेको हुन्छ रे नि †
यो कुरा हरेक वर्ष हल्लामा आइरहन्छ, तर मलाई थाहा छैन । भाग लिनेले सय प्रतिशत म नै पुरस्कृत हुन्छु भन्ने चाहना राखेको हुन्छ । पुरस्कार नपाएपछि फ्रस्टेड भइ पुरस्कार नपाउनुको कुण्ठा हल्लाद्वारा फिँजाइदिन्छन् । यस्ता हल्ला फिजाउने केही कविहरू नै पुरस्कारको दौडमा पनि हुन्छन् ।
तपाईंले कविता बुझाएपछि प्रतिष्ठानकी कविता विभाग प्रमुख डा. बेञ्जु शर्माले ‘तपाईं यसपटक सेकेन्ड नै हो फस्ट अरू नै कोही फिक्स भइसक्यो’ भनिन् रे †
हाम्रो नेपालका केही साहित्यकार (कवि) भनाउँदाहरू अत्यन्तै कल्पनाजीवि र स्वप्नजीवि छन्, यस्ता हल्ला फिँजाउन उनीहरूलाई कसैले तालिम दिन पर्दैन ।
तपाईंलेचाहिँ आफ्नो कविता फस्ट बनाउन लबिङ वा बार्गेनिङ गर्नुभएन ?
लबिङ वा बार्गेनिङ गरेको भए उहिल्यै प्रथम हुन्थेँ होला । ६ पल्ट छनौट भएको मान्छेले बारम्बार कविता बुझाउनु पर्थेन । र, म अहिले वर्तमान पुस्ताको सक्रिय कवि हुँ । मलाई के थाहा छ भने, एउटा सामाजिक दायित्वबोध गरेर लेख्ने कविले गहतमा जात फाल्दैन ।
यो देशमा अरू कोही कवि नभएझैँ एकै परिवारका दिदी, बहिनी (दुसला अधिकारी र रमा अधिकारी) नै तेस्रो स्थानमा सगौरव पुरस्कृत भएछन् । यस्तो हँुदा आफूले पाएको पुरस्कारको गरिमा मरेझैँ लागेन बाबुजी ?
सुनेको कुरामा हत्तपत्त म विश्वास गर्दिन् । तर सुन्दा अचम्म लाग्यो । तर पुरस्कार पाउनु आफँैमा एउटा गरिमा हो मेरा लागि ।
रद्धि टोकरीमा फाल्नलायक नेपालका पुरस्कारलाई गौरवान्वित बनाउन के गर्नु जरुरी छ झैँ लाग्छ ?
पहिला त तपार्इंले संकेत गर्नु भएको फाल्नलायकको पुरस्कारहरू कुन कुन हुन् ? त्यो प्रस्ट्याउनु पर्‍यो । म पनि त्यही अनुसार जवाफ दिन तयार छु । सबै पुरस्कारलाई एउटै डालोमा हाल्न नमिल्ला ।
प्रज्ञा प्रतिष्ठानबाट दिइने पुरस्कारमा राष्ट्रभरिका कविलाई भाग लिन अनुरोध गरिन्छ । तर, पछि पुरस्कार दिइँदा एउटै परिवारका सदस्यलाई निरन्तरता दिइन्छ (कुनैबेला दुबसु क्षेत्री प्रथम, पछि उनका भाइ कृसु क्षेत्री प्रथम, यसपटक पनि प्रथम हुने चक्र सुवेदी दुबसु क्षेत्रीकै भाइ हुन् र दुबसुकै लबिङबाट उनले पुरस्कार पाए भन्ने चर्चा व्यापक छ) । यो पारिवारिक पुरस्कारझैँ लाग्दैन कविज्यू ?
नजाने गाउँको बाटो सोधेर मुख किन दुखाउनु ? मेरो पहिलो प्राथमिकता निरन्तर प्रकारको सिर्जनशीलता नै हो । मलाई के थाहा छ भने मैले भाग लिइसकेपछि पुरस्कार नपाउँदा मेरो कविता कहीँ त कमजोर भएको महसुस गर्छु । मैले पुरस्कार पाउँदा मेरो कविता बलियो भएको ठान्छु र गर्व गर्छु । कि त भाग लिनै भएन । मसँग अरु कसैलाई पनि दाँज्दिनँ । पुरस्कारलाई पनि अरु केहीसँग दाँज्न मिल्दैन । पारिवारिक र नपारिवारिक भन्नेचैँ इतिहासले लेखाजोखा गर्ला ।
अनि कविज्यू, कविता त मान्छेको निजी भावना र विचार हो क्यारे । यो भावना र विचार एक नम्बरको, यो दुई नम्बरको भनेर, कहिँ प्रतियोगिता हुन्छ र †
लेखकको हातमा रहँदासम्म त्यो निजी हुन्छ । बजारमा वा मञ्चमा आइसकेपछि वा गइसकेपछि त्यो सार्वजनिक हुन्छ । फेरि कवितालाई त मञ्च पनि चाहिन्छ । मञ्च विनाको कवि र कविता हुन सक्दैन । स्वस्थ प्रतियोगिता आजको आवश्यकता हो । स्वस्थ प्रतिस्पर्धा हरेक विधामा हुन जरुरी छ । र, प्रतियोगिता भनेपछि औपचारिकताको लागि पनि कवितालाई तौलिनु चैँ पर्दछ ।
तपाईं त गजलमै हिट हुनुहुन्थ्यो । फेरि कवितातिर झुकाव बढेछ नि †
उही कुरा हो । गजलमा पनि म कविता भेट्छु र कवितामा पनि म गजल देख्छु । मेरो गजल कवितात्मक हुन्छ यो दाबी गर्छु । म गजलमा घर, समाज र देश लेख्छु । किनभने गजल जीवनको लय हो । लय बिग्रियो भने घर बिग्रिन्छ । घर बिग्रियो भने समाज बिग्रिन्छ । समाज बिग्रियो भने देश बिग्रिन्छ भन्ने मान्यता मेरो हो । कवितामा पनि यही मान्यता छ मेरो । कविता छ र त मेरो गजल छ । मेरो गजल छ र त मेरो कविता छ । कविता र गजल नङ र मासु हुन् मेरा लागि । झुकाब बराबर छ ।
अर्कोपटक प्रथम हुने लोभमा बाबु त्रिपाठीले प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगितामा भाग लिन्छ कि लिँदैन ?
म साहित्यमा भविष्यको योजना बनाएर हिँड्ने र योजना बनाएर लेख्ने गर्दिन । भविष्यको कुरा भविष्यमै बिचार गरिएला । भोलि पानी पर्‍यो भने छाता पनि भोलि नै किन्छु म ।
के तपाइँको प्रथम हुने योग्यता छैन ?
कविताको कुरा गर्ने हो प्रज्ञा प्रतिष्ठान बाहेक ९ पल्ट कवितामा पुरस्कार जितेको मान्छे हुँ । जसमा ४ पल्ट प्रथम भएको छु । २०६७ मा मैले क्रान्ति शीर्षकको कविता वाचन गर्दा प्रज्ञा प्रतिष्ठानमा उपस्थित भएका लगभग सबै स्रोताहरुले यसपल्टको प्रथम तपाईँ नै भनेर ठोकुवा गर्नु भएको थियो । २०६७ मा जो जो उपस्थित हुनुहुन्थ्यो उहाँहरूले अझै पनि मेरो उक्त क्रान्ति कविता बिर्सनु भएको छैन भन्ने लाग्छ । यो वर्ष २०७० मा पनि त्यही इतिहास दोहोरियो । स्रोताहरूले तोकेरै प्रथम भन्नु प्रथम पुरस्कार पाए सरह हो मेरा लागि । जहाँ कविता बुझाउँछु, आत्मविश्वासले कविता बुझाउँछु । सायद अरुले पनि त्यही गर्लान् । म केही पनि हुन्न भनेर कसैले पनि कविता बुझाउन जाँदैन । प्रथम हुनु आकाशको फल हो । कहिलेकाँही ठीक ठाउँमा ढुङ्गाले लागे पनि फल नखस्न सक्छ । किनकि म सदैव चुनौती मन पराउने स्रष्टा हुँ ।

प्रस्तुति : दीपक सापकोटा
विज्ञप्ति : चराहरूको

ओ मान्छे †
तिम्राजस्तै
हाम्रा पनि छन् इन्द्रेणी सपनाहरू
देख्नको लागि
जोर आँखाहरू हाम्रा पनि छन्
टेक्दा
माटो नै टाँसिन्छ
हाम्रा पैतालाहरूमा पनि
तीर्खा
हामीलाई पनि लाग्छ
पेट भर्नको लागि
गाँस हामीलाई पनि चाहिन्छ
हामीले कहिले भन्यौँ
गाँस दिने
धानका बालाहरू हाम्रामात्र हुन् ?
बिस्कुनझैँ
आकासमा छरिएका ताराहरू
हाम्रा मात्र हुन् ?

हामीले कहिले भन्यौँ
भूगोलको यो छेउबाट बिउँझेर
भूगोलको पल्लो छेउमा
बास बस्न जाने उज्यालो हाम्रोमात्र हो ?
रगत–
हाम्रो पनि रातै छ
हामीले कहिले भन्यौँ
नछुनू–
माथि लेकबाट बगेका झरनाहरू ?
नछुनू–
पहाडको गन्ध बोकेर
यात्रामा निस्केको बतास ?

ओ मान्छे †
यसरी–
कहिलेसम्म हिँड्छौ
चकटीजत्रो मन बोकेर ?
हामी त–
हाँगामै निदाउँछौँ
हाँगामै बिउँझिन्छौँ

चर्खाझैँ
हाम्रो लागि पनि घुमेको हो पृथ्वी
हामीले कहिले भन्यौँ
पृथ्वी हाम्रोमात्र हो ?
ओ मान्छे †
तिमीजस्तो
संवेदनाहीन छैनौँ हामीहरू †

(राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान प्राप्त बाबु त्रिपाठीको कविता)

प्रतिक्रिया