मन्त्रिपरिषद् अध्यक्ष र एमाले अध्यक्षबीच भेटवार्ता

काठमाडौं, १५ असार । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको निवास बालुवाटारमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारले अगाडि बढाएको संविधानसभाको निर्वाचनको प्रक्रियालगायत विषयमा छलफल भएको अध्यक्ष खनालका सहयोगी रामबाबु अधिकारीले जानकारी दिए ।

भेटका अवसरमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले निर्वाचन तोकिएको समयमा सफल बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताए । अध्यक्ष रेग्मीले राजनीतिक दलले निर्वाचनलाई तोकिएको समयमा सफलीभूत बनाउन आ–आफ्ना ठाउँबाट अझ बढी भूमिका निर्वाह गर्न अध्यक्ष खनाललाई आग्रह गरे । भेटका अवसरमा एमाले अध्यक्ष खनालले असन्तुष्ट दलसँग वार्ता प्रक्रियाअगाडि बढिरहेको जानकारी गराउँदै एमाले निर्धारित समयमै निर्वाचन सम्पन्न होस् भनी लागिपरेको जनाए । असन्तुष्ट दललाई समेत निर्वाचनको प्रक्रियामा सहभागी गराउन सरकारका तर्फबाट विशेष प्रयत्न र पहल हुनुपर्नेमा अध्यक्ष खनालले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया