गैरकानुनी कर संकलन गर्ने तीन जना पक्राउ

राजविराज, १४ असार । गैरकानुनी कर संकलन गरेको आरोपमा सप्तरी प्रहरीले विहीवार राति पोर्ताहावाट तीन ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारदह १ कोशी ब्यारेज निवासी भरोषी मण्डल, त्रिकौल निवासी अमित लगरवार र पोर्ताहा ३ निवासी सन्तोष साह छन ।
जिल्ला विकास समिति सप्तरीको पोर्ताहामा निकासी पैठारी कर संकलनका लागि राखिएको ढाटवाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ तीनै जनालाई ईलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ । उनीहरुले ढाटवाट अनाधिकृत रुपमा चुङ्गिकर असुल गरेको प्रहरीको आरोप छ ।
जिल्ला विकास समिति मार्फत कर संकलनका लागि ठेक्का लिएका कृष्ण निर्माण सेवाका सञ्चालक रासलाल रायले भने आफना कामदारलाई प्रहरीले झुटो आरोपमा फसाएको गुनासो गरेका छन् । ठेकेदार रायको गुनासो सुनाउदै जिल्ला विकास समितिका कर्मचारी गौतम चौधरीले भने ‘रातको करिव साढे नौ वजे पुर्वतर्फ जादै गरेका पुर्वाञ्चलका डिआईजी उपेन्द्रकान्त अर्यालको गाडिमा टर्च देखाएको रिसमा उनीहरुलाई पक्राउ गरिएको हो ।’
सप्तरीका डिएसपी श्यामसिंह चौधरीले भने पक्राउ परेका तीनै जना गैरकानुनी कर संकलमा लागेकाले नियन्त्रणमा लिईएको वताएका छन् ।

प्रतिक्रिया