कृत्रिम गर्भाधान गराउने पशुपालकको संख्या दोब्बर

रोल्पा, १४ असार । कृत्रिम गर्भाधान प्रविधिको विकास भएपछि पछिल्लो समयमा रोल्पाका पशुपालक कृषकको संख्या दोब्बर बढेको छ । पशुसेवा कार्यालयमै पशुलाई गर्भाधान गराउन पाउने भएपछि भैँसीका लागि राँगो तथा गाईका लागि बहर खोज्ने झन्झटबाट मुक्त भएको किसानहरूको भनाइ छ ।

विगत एक वर्षअघि जिल्ला पशुसेवा कार्यालय रोल्पाले जिल्लाबाहिरबाट उन्नत राँगो तथा साँढेको वीर्य ल्याई जिल्लामै कृत्रिम तरिकाले पशुहरूलाई गर्भाधानको सेवा उपलब्ध गराएपछि पछिल्ला दिनमा कृषक कृत्रिम गर्भाधानतिर आकर्षित भएका हुन् ।
गत वर्षदेखि कृत्रिम गर्भाधान कार्यक्रम जिल्ला पशुसेवा कार्यालयमार्फत उन्नत जातका राँगो तथा बहरको वीर्यको सुविधा दिन थालेपछि किसानहरू कृत्रिम गर्भाधानप्रति आकर्षित भएका हुन् । गत वर्ष १ सय पशुलाई कृत्रिम गर्भाधान गराइएको रोल्पामा यस वर्ष भने हालसम्म २ सय पशुहरूलाई कृत्रिम गर्भाधान गराइसकेको जिल्ला पशुसेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए । यसरी कृत्रिम गर्भाधानप्रति आकर्षित हुने किसानको संख्या दोब्बरले बढ्दै गएपछि जिल्ला पशु सेवा कार्यालयले कृत्रिम गर्भाधानबारे प्रचारप्रचारलाई व्यापकता दिँदै आएको छ ।
ग्रामीण भेगका कृषकलाई सहज तरिकाले सेवा दिने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले २४सै घन्टा कृत्रिम गर्भाधान सेवा दिन थालेपछि कृत्रिम गर्भाधान गराउनेको लहर चलेको हो । पोखरामा रहेका उन्नत जातका राँगो तथा साँढेको वीर्य संकलन गरी नेपालगन्जबाट जिल्ला पशुसेवा कार्यालयले उक्त कृत्रिम गर्भाधानको सेवा उपलब्ध गराउँदै आएको जिल्ला पशुसेवा कार्यालय रोल्पाका कार्यालय प्रमुख राजेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उक्त सेवा दिनका लागि विशेष किसिमको विद्युतीय सामग्रीको आवश्यकता पर्ने भएकाले तत्काल गाउँगाउँमा सेवा पुर्‍याउन नसकिएको बस्नेतको भनाइ छ । कृत्रिम गर्भाधानका लागि गाई भैँसीले साँढे वा राँगो खोजेको १८ घन्टाभित्र वीर्य दिइसक्नुपर्ने पशु चिकित्सक सिंहले बताए ।
हालसम्म जिल्लाका लिवाङ, ह्वामा, खुँग्री, खुमेल, गजुललगायत गाविसका कृषकले यो सेवा लिइरहेका छन् ।

प्रतिक्रिया