दुनाटपरीबाट जीविकोपार्जन

देउखुरी, १४ असार । चैलाही, भैसकोर्माकी फूलकुमारी चौधरी दिनहुँ समूहले सञ्चालन गरिरहेको दुनाटपरी उद्योगमा जाने गर्छिन् । सामूहिक रूपमा खोलिएको उद्योगमा उनीलगायत ९ जना सदस्य छन् । चार वर्ष पहिले खोलिएको दुनाटपरी उद्योगबाट अहिलेसम्म तीन लाख बढी आम्दानी भइसकेको छ । ‘समूहमा बसेका छौँ,’ चौधरीले भनिन्, ‘सामूहिक रूपमा दुनाटपरी उद्योग खोलेका छौँ ।’ दुनाटपरी बिक्रीबाट आएको सबै रकम समूहमा नै जम्मा गर्छन् । जम्मा भएको रकम सहुलियतमा ऋण लगानी गर्छन् । ‘छोराछोरीको पढाइलेखाइ, औषधी खर्चमा चाहिएका बेला पैसा निकाल्छौँ,’ फूलकुमारीले भनिन्, ‘पैसा खोज्न बैंक जानुपर्दैन ।’ बजारमा अहिले चार्ट दुनाको माग बढी छ । चार्ट दुनाबाटै समूहमा आम्दानी बढेको छ ।

सामूहिक कामको उदाहरणीय अभ्यास चैलाही–७ भैसकोर्माका बासिन्दा बनेका छन् । वनजंगलमा त्यसै खेर गइरहेको साल र मालुकाको पातको सदुपयोग गर्दै सामूहिक रूपमा दुनाटपरी उद्योग खोलेका भैसकोर्माका वासिन्दाले लाखौं रुपियाँ जम्मा गर्न सफल भएका हुन् । ‘जंगलमा खेर गइरहेको साल र मालुकाको पातबाटै दुना बनाइरहेका छौँ,’ फूलकुमारीले भनिन्, ‘अहिले अलि समस्या छ, पात नजिकको जंगलमा नपाएपछि दुई घन्टा पैदल हिँडेर पात ल्याउनुपर्छ ।’
नर्ती सामुदायिक वन उपभोक्ता समन्वय समिति लमहीको सहयोगमा दुनाटपरी खुट्ने मेसिन जडान गरिएपछि यस पेसालाई व्यावसायिक रूप दिन सजिलो भएको हो । ‘दुनाटपरीबाट पनि पैसा आर्जन गर्न सकिन्छ भन्नेमा विश्वास लागेको थिएन तर व्यावसायिक रूप दिँदा आम्दानी हुँदो रहेछ,’ तेजकुमारी चौधरीले भनिन्, ‘अहिले समूहमा लाखौँ रकम जम्मा छ ।’ समूहमा जम्मा भएको पैसाले गर्जाे सजिलै टरेको छ ।
पाँच महिला र चार पुरुष गरी यो समूहमा ९ जना छन् । दुनाटपरी उद्योगबाट तीन लाख २६ हजार रुपियाँ आम्दानी भएको उद्योगका सचिव जितु चौधरीले बताए । जितुले भने, ‘उद्योगलाई थप विस्तार गर्ने तयारीमा छौँ ।’ हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट पनि लाखौँ रुपियाँ कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । यस्ता कार्यको अनुसरण गर्दै व्यावसायिक क्षेत्रमा लाग्ने हो भने दुई चार रुपियाँका लागि पनि अर्काको मुख ताक्नु पर्दैन ।

प्रतिक्रिया